भक्तपुर –विगत सात महिनादेखि आन्दोलनरत मानव अङ्ग प्रत्यारोपण केन्द्रका नर्सले आकस्मिक कक्ष मै धर्नामा बसेका छन् । केन्द्रले आफूहरुमाथि अन्याय गरेकाले न्याय पाउनु पर्ने, बिना आधार करार सेवाबाट निष्काशन गरिएकाले पुनर्बाहाली गर्नुपर्ने, सबै करारमा रहेकालाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले विगत चारदिनदेखि आकस्मिक कक्ष मै धर्ना दिएका हुन् ।


ADVERTISEMENT


केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिरामीको बाहना गरी चारदिनदेखि आकस्मिक कक्षमा बसेर त्रजिना जती र सजिना द्यौलाले आकस्मिक कक्षको दुरुपयोग गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सुरुको दिन बेहोस भए भनेर आकस्मिक कक्षमा आएर बसे पछि यहाँका चिकित्सकले उपचार समेत गरे, उपचारमा संलग्न चिकित्सकलाई समेत जथाभावी गाली गलौच काम भयो, अहिले अबस्था ठिक छ, जानुस भनेर डाक्टरले डिस्चार्ज गर्दा पनि नगई आकस्मिक कक्षको बेडमा बसेका छन्, यसले वास्तविक विरामीलाई राख्ने ठाउँको अभाव भएको छ ।’

आठ वटा शैया भएको केन्द्रको आकस्मिक कक्षको एउटा शैयामा जती र द्यौला बस्नु भएको छ । केन्द्रका निर्देशक डा. श्रेष्ठले उनीहरुले आन्दोलन गरेर बाहिरका मानिस बोलाएर हलहुज्जत गर्ने र धम्की दिएको आरोप लगाउँदै यहाँका कर्मचारीहरु समेत असुरक्षित भएको जिकिर गरे ।

डा. श्रेष्ठले भने, ‘करार सेवा नविकरण नगरेको बाहनामा गरिएको आन्दोलनका कारण योजना गरेभन्दा ५० वटा मिर्गौला प्रत्यारोपणमा कमी आएको छ, कलेजो प्रत्यारोपण र मुटुको अप्रेशन कार्यमा असर परेको छ, मलाई पाँच घण्टा कार्यकक्षबाट बाहिर जान नदिई मिर्गौला प्रत्यारोपण गर्न समेत अबरोध पुर्याएका छन्, अहिले आकस्मिक कक्षको अनावश्यक प्रयोगले वास्तविक विरामी मर्कामा परेकाले छिटो बेड खाली गर्न अपिल गर्दछौ ।’

आन्दोलनमा उत्रिएकाले निर्देशक डा. श्रेष्ठ र नर्सिङ्ग निर्देशक इन्दिरा प्रधानको चरित्र हत्या गर्ने र मिर्गौलाको विरामीलाई पुनः भारत पलायन हुन बाध्य पार्ने गरी भ्रम फैलाउने काम भएको उनको भनाई छ । निर्देशक डा. श्रेष्ठले संचार माध्यमले आन्दोलनकारीको पक्षमा एकतर्फी रुपमा समाचार सम्प्रेषण गरेर गलत गरेको टिप्पणी समेत गरे ।

यसबारेमा स्वास्थ्य मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदनका आधारमा करार सेवा नविकरण गर्नुपर्ने कुनै आधार नभएको भन्ने व्यहोराको निर्देशनात्मक पत्र केन्द्रलाई पठाएको जानकारी गराए ।

केन्द्र स्थापना भएदेखि तीन महिने अस्थायी करारमा रहेका नर्स तथा कर्मचारीलाई स्थायी पदपूर्तिका लागि माग भई गएअनुसार लोकसेवाले स्थायी गर्न परीक्षा संचालनको अन्तिम तयारी गरेको जानकारी आफूले पाएको उनको भनाई थियो ।

आकस्मिक कक्षमा बसेका नर्स मध्ये त्रजिना जतिको स्वास्थ्य अबस्थामा केही सुधार भएपनि अन्य अस्पतालमा लगेर उपचार गर्नुपर्ने केन्द्रका चिकित्सकले जानकारी दिएका छन् । सजिना द्यौलाको अबस्था भने सामान्य भइसकेको चिकित्सकको भनाई छ ।

आकस्मिक कक्षमा बसेका नर्स जती र द्यौलाले उपचार र धर्ना दुबै भएको बताउँदै नेपाल नर्सिङ्ग संघले धर्नामा बस्न भनेकाले बसेको बताइन् । द्यौलाले भनिन्, ‘हाम्रो उपचार र धर्ना दुबै हो, हाम्रो सबै समस्इा र जिम्मेवारी नर्सिङ्ग संघले लिएको छ, हाम्रो आन्दोलन जारी छ ।’

केन्द्रकी नर्सिङ्ग निर्देशक प्रधानले भने यतिखेर अस्पतालमा भर्ना भएर बस्नु पर्ने अवस्था नभए पनि आकस्मिक कक्षको शैया कब्जा गरेर वास्तविक बिरामीको उपचारमा समस्या पैदा गरेको आरोप लगाइन् ।