काठमाडौं-पाटन अस्पतालले ललितपुरकी एक महिलाको शरीर शल्यक्रिया गरेर तीन वर्षसम्म पेटमा अड्किएको पाइप निकालेको छ । तीनवर्ष पहिले पाटन अस्पतालले नै पत्थरीको शल्यक्रिया गरेकी ललितपुरकी २४ वर्षीया अस्मी लोप्चनको पेटमा अड्किएको पाइप निकालेको हो ।


ADVERTISEMENT


अत्याधिक पेट दुखेपछि दुई दिनअघि अस्पताल भर्ना भएकी लोप्चनलाई अस्पतालमा पुर्याएलगत्तै एक्सरे, भिडियो–एक्सरे र सिटीस्क्यान गरेर हेर्दा उनको पेटमा कुनै अनौठो प्रकारको वस्तुको आशंका चिकित्सकहरुले गरे । त्यसलगत्तै आइतबार अस्मीको शल्यक्रिया गरियो ।


ADVERTISEMENT

# # #


उनको शल्यक्रियामा संलग्न चिकित्सकहरुले पेटबाट एक्कासि फलामको रडजस्तै देखिने वस्तु निकाले । पेटबाट एक्कासि फलामको पाइपजस्तो बस्तु निकालिएपछि अस्मीका आफन्त र परिवार आश्चर्यमा मात्र परेनन् उनीहरुको मनमा चिसो समेत पस्यो ।

परिवारको आशंका तीन वर्षअघि सोही अस्पतालले गरेको पथ्थरी अप्रेशनको घटनासँग गएर ठोक्कियो । उनीहरुले त्यहीबेला चिकित्सकहरुले फलामको पाइप छाडेको हुनसक्ने आशंका गरेर अस्पताल प्रशासनसँग यो कुरा राखे । तर अस्पताल प्रशासनले तीन वर्ष अघिको कागजपत्र माग्यो ।

तर अस्मीका परिवारले त्यो कागजपत्र उपलब्ध गराउन भने सकेनन् । भूकम्पका कारण अस्मीको घर भत्किँदा शल्यक्रिया गरेको कागजपत्र हराइसकेको थियो । तर उनका आफन्तहरुको मन भने अझै अडिएन, उनीहरुले यो घटनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएलगत्तै सर्वत्ररुपमा अस्पतालले गल्ती गरेको ठहर भयो । तर उक्त घटनालाई अस्पतालले बेवास्ता गर्दै गएपछि अस्मीका आफन्तहरु आन्दोलनमा जाने तयारी गरिरहेका छन् ।

अस्मीको अप्रेशनमा संलग्न चिकित्सकहरुले भने उक्त वस्तु रड नभएर किड्नी वा किड्नीको ट्रयाकमा कुनै पनि शल्यक्रिया गर्दा राखिने स्टान्ड भएको दाबी गरेका छन् । चिकित्सकहरुका अनुसार पत्थरीको अप्रेशन गर्दा ढुङ्गा मात्रै निकालिदैन, त्यसबेला मृगौलालाई पनि जोगाउनुपर्ने हुन्छ ।

त्यसबेला चिकित्सकहरुले डबल जे आकारको पाइपजस्तै देखिने स्ट्यान्ड राख्ने गर्छन् । चिकित्सकहरुको भनाईअनुसार स्टयान्ड राखिएको ६ हप्तामा अनिवार्य रुपमा निकाल्नुपर्ने हुन्छ । तर अस्मीको परिवारले भने चिकित्सकहरुको बेवास्ताले गर्दा यो घटना भएको अनुमान गरेको छ । उता, अस्पतालले भने त्यसबेला अस्मीको परिवारलाई ६ हप्तामा स्ट्यान्ड निकाल्न गरेको आग्रह बेवास्ता गरेकोले यो घटना भएको दाबी गरेको छ ।

चिकित्सकहरुका अनुसार स्टोनको कारण कहिलेकाँही किड्नी र पिसाबथैली साँघुरिएर जाने हुँदा स्ट्यान्ड राख्नुपर्ने हुन्छ । शल्यक्रियापछि त्यो भाग सुन्निने हुँदा मृगौला सही र सुचारु रहनको लागि स्ट्यान्डको प्रयोग गरिने चिकित्सकहरु बताउँछन् । यद्यपि, मुटुले राम्रोसँग रक्तप्रवाह नगरेको खण्डमा बिरामीले जीवनभरनै स्ट्यान्ड राख्नुपर्ने पनि हुनसक्छ । तर यो घटनामा भने अस्पतालले स्पष्ट कुरा बताएको छैन ।

जसका कारण पीडितहरु आक्रोसित भएका छन् । यता, पीडित अस्मीका श्रीमान रोशनले भने स्ट्यान्ड निकाल्नको लागि ६ हप्तामा आउनुपर्ने कुराको बारेमा आफूलाई अस्पतालले जानकारी नगराएको दाबी गरेका छन् ।