काठमडौँ – आईसीसी क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा नेपाल आयोजक जिम्बाब्बे ८ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


जिम्बाब्बेको हरारेस्थित हरारे स्पोर्टस् क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्बेले ४४ ओभरमा २ विकेट गुमाउँदै सहत जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


कप्तान क्रेग एर्विन र सीन विलियम्सले तेस्रो विकेटका लागि नटआउट १६४ रनको साझेदारी गरेपछि जिम्बाब्बेको सहज जित हासिल गरेको हो । त्यसक्रममा एर्विनले नटआउट १२१ रनको पारी खेले । त्यसक्रममा उनले १२८ बलमा १५ चौका र १ छक्का प्रहार गरे । यस्तै विलियम्सले ७० बलमा नै १३ चौका र १ छक्काको मदतमा नटआउट १०२ रन बनाए । यस्तै विल्से माधेर्वेले ३८ बलमा ३२ तथा जोयलर्ड गुम्बेइले २५ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र गुल्शन झाले समान १–१ विकेट हात पारे । नेपालका मुख्य हतियार मानिएका सन्दी लामिछाने आज निष्प्रभावी साबित भए । उनले ३२ एकदिवसीय खेलपछि आज विकेटविहीन भए । त्यसक्रममा सन्दीपले १० ओभरमा ७७ रन खर्चिए ।

यसअघि नेपाललाई उच्च स्कोरतर्फ डोर्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले शानदार ब्याटिङ गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याए ।

आक्रमक ब्याटिङ गरेका कुशल शतक बनाउनबाट १ रनले चुके । उनले ९५ बलमा १३ चौका र २ छक्काको मदतमा ९९ रन बनाए । यस्तै आशिफले १०० बलमा ७ चौकाको मदतमा ६६ रनको योगदान गरे । यस्तै कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्का ठोक्दै ४१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले २९ बलमा ५ चौका हान्दा ३१ रन बनाए ।

आरिफ शेख १० रनमा आउट हुँदा गुल्शन झाले १३ बलमा १ चौकाको मदतमा १३ रन बनाए । बलिङतर्फ रिचार्ड न्गार्भाले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा ४३ रन दिए । यस्तै विलिङ्टन मासाकाट्जाले १० ओभरमा ४२ रन दिएर २ विकेट लिए । टेन्डाई चतारा र ब्लेसिङ मुजारबानीको नाममा १ विकेट रह्यो ।

नेपालले अब बिहीबार अमेरिकासँग खेल्नेछ । १० राष्ट्र सम्मिलित विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ नेपालले आयोजक जिम्बाब्बे, वेष्ट इण्डिज, नेदरल्याण्ड र अमेरिकासँग खेल्दैछ । यस्तै समूह ‘बी’मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । विश्वकप छनोटका शीर्ष दुई टोली यही वर्ष भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।