काठमाडौं-भूकम्प पीडितले जस्तै आगलागी, बाढी तथा डुबानपीडित घरपरिवारले पनि दुई प्रतिशतमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा यस्तो सुविधा उपलब्ध गराउने उल्लेख छ ।


ADVERTISEMENT


राष्ट्र बैंकले शुन्य प्रतिशत ब्याजमा पुनर्कर्जा उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरुले पीडितलाई २ प्रतिशत ब्याजमा ऋण दिनुपर्छ । यस्तो कर्जा लिनेले बिमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षण शुल्क भने आफैं तिर्नुपर्छ ।


ADVERTISEMENT

# # #


सरकारको निर्णय अनुसार राष्ट्र बैंकले १५ देखि २५ लाख रुपैयाँसम्म ऋण दिन लागेको हो । राष्ट्र बैंकले २०७२ साल वैशाखमा आएको भूकम्प पीडितलाई पनि २ प्रतिशतमा ऋण उपलब्ध गराउँदै आएको छ । भूकम्प पीडितले एक अर्ब एक करोड रुपैयाँ ऋण लगिसकेका छन् ।

आगलागी, बाढी र डुबानबाट पीडित घरपरिवारलाई घर पुनर्निर्माण र व्यवसाय पुनः सञ्चालन गर्नका लागि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन लागेको हो । यो सुविधा भोजपुर बजार, तेह्रथुमको संक्रान्ति बजारका आगलागीपीडितले पाउने छन् । दुई जिल्लाका गरी ३४ परिवारलाई सुविधा प्राप्त हुनेछ ।

सप्तरी जिल्लाका बाढीपीडितले पनि ऋण सुविधा पाउने छन् । उनीहरुलाई अधिकतम १५ लाख रुपैयाँ मात्र उपलब्ध गराइने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

आगलागी तथा बाढीपीडितले न्यूनतम ५ र अधिकतम १० वर्षसम्मका लागि ऋण पाउने छन् । अग्रिम भुक्तानी गर्न चाहेमा अतिरिक्त शुल्क लाग्दैन । पुनर्कर्जा एक वर्षको हुनेछ र अर्को एक वर्ष नवीकरण गर्न मिल्छ । त्यसपछि भने पीडितले बजारको ब्याज अनुसार बैंकलाई बढेको ब्याज तिर्नुपर्छ ।