काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले निःशुल्क स्वास्थ्य वीमा कार्यान्वयनका लागि दबाब दिन संकलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।


ADVERTISEMENT


नेविसंघले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुमा एकैपटक संकलित हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको हो । संगठनले नेपालको संविधानको स्वास्थ्यसम्बन्धी मौलिक हक अन्तर्गत सबै नियमित विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य वीमा अविलम्ब कार्यान्वयन गर्नुपर्ने, रोजगारको ग्यारेन्टी गर्नुपर्ने तथा बेरोजार भत्ताको व्यवस्था गर्न माग गरेको छ । यस्तै प्राविधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न ७ वटै प्रदेशमा एक/एकवटा मेडिकल कलेज, इन्जिजियरिङ कलेज र कृर्षि क्याम्पस खोल्न सरकारलाई नेविसंघले आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै सर्टिफिकेट धितो राखेर शैक्षिक ऋणको व्यवस्था, सबै शैक्षिक संस्थाहरुमा ई–लाइबेरीको व्यवस्था गर्न, सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक शिक्षालयको व्यवस्था गर्न र सरकारको लगानीमा प्रारम्भीक बालविकास केन्द्रको स्थापना गर्न पनि संगठनले माग गरेको छ ।

आफ्ना मागहरुको कार्यान्वयनका लागि पुष २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले आफ्ना माग ७२ घण्टाभित्र सम्बोधन गर्न भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । तर तोकिएको समयसम्म मागको कुनै सम्बोधन नभएको भन्दै संगठनले पुष २४ गते देशभरिका शिक्षालयहरुबाट हस्ताक्षर संकलन गरेको थियो ।

माग पूरा नभए पौष ३० गते जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना र्‍याली र माघ २ गते सबै जिल्ला सदरमुकाममा दबाब र्‍याली गर्ने नेविसंघले चेतावनी दिएको छ । यति गरेर पनि माग सम्बोधन नभएमा माघ ५ गते देखि अनसन बस्ने नेविसंघले जनाउँदै आएको छ ।