काठमाडौं-त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् ।


ADVERTISEMENT


चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन बिहीबार र शुक्रबार आईओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सयमध्ये १ हजार ६ सय विद्यार्थीलाई ‘ओपन हाउस काउन्सिलिङ’ मा बोलाएको थियो ।


ADVERTISEMENT

# # #


काउन्सिलिङमा सहभागी अधिकांश विद्यार्थीले काठमाडौंको महाराजगन्ज मेडिकल कलेज र नेपाली सेनाको स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए । यी दुवै कलेजमा पूरा सिट भरिए पनि अन्य ६ वटा कलेजमा अझै सिट खाली छन् ।

काउन्सिलिङका क्रममा वीरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना हुन एक जनाले पनि रुचि देखाएनन् भने जनकपुरको जानकी मेडिकल कलेजमा दुई जनाले मात्र भर्ना हुने चाहना राखे । अन्य ४ वटा कलेजका पनि थुप्रै सिट खाली रहे । ओपन हाउस काउन्सिलिङका क्रममा छानिएका विद्यार्थीले रोजेका कलेजमा एक साताभित्र अनलाइनबाट भर्ना हुनुपर्छ । आईओएमले यस वर्ष नेसनललाई ८१ र जानकीलाई ७२ सिट भर्ना कोटा दिएको छ । यो संख्या छात्रवृत्तिबाहेकको हो ।

यस्तै, भैरहवाको युनिभर्सल मेडिकल कलेजलाई ९०, ललितपुर ग्वार्कोको किस्ट मेडिकल कलेज, चितवन भरतपुरको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजलाई ८१/८१ सिट पूर्ण शुल्कको कोटा दिएको छ । नेपाली सेनाको कलेजले ९० सिट पाएको छ । विद्यार्थीको पहिलो रोजाइ महाराजगन्ज कलेज, दोस्रो सेना, तेस्रो पोखराको गण्डकी, चौथो किस्ट र पाँचौं युनिभर्सल परे ।

आईओएमका अनुसार युनिभर्सलमा २४ जना, किस्टमा ३४ जना, चितवनमा ६२ जना र गण्डकीमा ७ जनाले भर्ना हुने रुचि देखाएका छन् ।

आईओएमले बिहीबार ८ सय र शुक्रबार ८ सय विद्यार्थीलाई बोलाएर कलेज रोज्न लगाएको थियो । ‘भर्ना हुने सर्तमा आफूले पढ्न चाहेको कलेज छनोट गर्न दिइएको थियो,’ आईओएमको सूचनामा भनिएको छ, ‘काउन्सिलिङपछि सम्बन्धनप्राप्त कलेजहरूको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ ।’ भर्ना भएका विद्यार्थीको नामावलीसहितको विवरण आईओएमले सम्बन्धित कलेजमा पठाउने व्यवस्था मिलाइएको छ ।- आजको कान्तिपुरबाट