पर्वत– जङ्गलको छेउछाउमा रहेको एउटा मगरसमुदायको बस्ती । जहाँ न स्वच्छ खानेपानीको उचित प्रबन्ध न त अन्य सुविधा नै ।


ADVERTISEMENT


जिल्लाबाट गाउँसम्म पुगेका विभिन्न सङ्घ संस्था पनि ठाउँ टाढा र दुर्गम भएका कारण त्यहाँ नपुगिकनै फर्किएको तितो यथार्थ पातलखर्कवासीमा अझैसम्म ताजै छ । तर अब भने यी सबै समस्याबाट मुक्ति पाएका छन् पातलखर्कवासीले ।


ADVERTISEMENT

# # #


जलजला गाउँपालिका–६ शालिजाको पातलखर्कवासीमा अहिले खुसीको सीमा छैन । त्यहाँका ८१ घरधुरीमा घरघरै स्वच्छ सुरक्षित खानेपानी जडित धारा निर्माण भएपछि अहिले पातलखर्कवासीमा खुसी छाएको हो । खानेपानीको उचित प्रबन्ध नहुञ्जेलसम्म जङ्गलको जरुवा र कुवाको पानी खान बाध्य पातलखर्कवासीले झन्डै रु ४७ लाखको लागतमा बृहत् खानेपानी आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएका छन् ।

जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा झन्डै रु एक लाख बराबरको जनश्रमदान गरेर उनीहरुले सुरक्षित खानेपानी घरघरमा पुर्याएका हुन् । गत वैशाखदेखि निर्माण कार्य सुरु भएको पातलखर्क खानेपानी आयोजना सम्पन्न भएपछि अहिले त्यहाँका ४१३ जना स्थानीयवासी लाभान्वित भएका छन् ।

उक्त योजनाबाट एउटा विद्यालय पनि खानेपानी योजनाबाट लाभान्वित भएको छ । “योजना सुरु गर्ने क्रममा योजना कसरी सम्पन्न गर्ने भन्ने चिन्ता थियो” स्थानीय उपभोक्ता राजकुमारी खोर्जाले भने “एउटै घरबाट ५० दिनसम्म जनश्रमदान गरेरै भए पनि योजना सम्पन्न गर्र्यौ, अहिले ढुक्क भएको छ ।” यसअघि गाउँको एक दुई स्थानमा गोर्खा बेलफेयर सोसाइटीको सहयोगमा धारा निर्माण भए पनि सुरक्षित खानेपानी उपभोगबाट सिङ्गो गाउँ नै वञ्चितमा परेको थियो ।

पानीको बहुउपयोगलाई सम्बोधन गर्ने किसिमले निर्माण गरिएको उक्त योजनाबाट पातालखर्कका किसानले तरकारीखेतीको लागि समेत पर्याप्त पानी उपभोग गर्नसक्ने परियोजनाका फिल्ड संयोजक अनिता पौडेलले बताइन् ।

पशुपालन र तरकारीखेतीमा निर्भर रहेका पातलखर्कवासीले धाराबाट खेर जाने पानीलाई सङ्कलन गरी पशु वस्तुलाई खुवाउने चार वटा एनिमल टुफसमेत नमुनाको रुपमा निर्माण गरेको परियोजनाका सल्लाहकार प्रसन्न पाण्डेयले जानकारी दिए ।