काठमाडौँ– सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर आजदेखि दैनिक पेशी तोकी समूहगत सुनुवाइ शुरु गरेको छ । समूहगत सुनुवाइका क्रममा आज चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ शुरु गरिएको हो ।


ADVERTISEMENT


समूहगत सुनुवाइका लागि न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको संयुक्त इजलासमा जग्गा दर्ता, नामसारी, गुठीजस्ता मुद्दामा र न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागूऔषध र नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ भयो ।


ADVERTISEMENT

# # #


न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा माना चामल, बहुविवाह, करकापलगायत विषयमा र प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा जालसाजी, करकापलगायत मुद्दामा सुनुवाइ भयो ।

सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्दा छिटो मुद्दाको किनार लाग्ने र न्यायमा पहुँच बढाउने उद्देश्यले आजदेखि दैनिक पेशी नै तोकेर समूहगत सुनुवाइ शुरु गरेको जानकारी दिए ।

अहिले सर्वोच्च अदालतमा २२ हजारको हाराहारीमा पुराना मुद्दा रहेको र ती मुद्दाको तीव्र रुपमा सुनुवाइ गर्न र पुराना मुद्दालाई प्रभावकारी रुपमा सकेर नागरिकलाई राहत मिल्ने सोचका साथ समूहगत सुनुवाइ शुरु गरेको समेत उनले जानकारी दिए ।