काठमाडौं-प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेसंगै त्यहॉको जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । मुलघाट, भेडेटार, हिले, सिधुवा, लेगुवा लगायतका स्थानमा कयौं सवारी साधन रोकिदा यात्रु अलपत्र परेका छन् । बिहानैदेखि आन्दोलनरत प्रदर्शन जारी राखेका छन् । धनकुटा बजारको जिरो प्वाइन्ट, आत्मारा ढाँट लगायतका स्थानमा सडकमा उत्रिएर यातायात अवरुद्ध पारिएको छ । बिहानैदेखि बजार, पसल, शिक्षण संस्था, उद्योग, कलखाना समेत बन्द रहेको छ ।


ADVERTISEMENT

# # #


बन्द अवज्ञा गरेको भन्दै धनकुटाको आत्मारा ढाटमा आज बिहान बन्दकर्ताले एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् । संखुवासभाबाट धरानतर्फ जादै गरेको को.२६ प ५६११ नम्बरको पल्सर मोटरसाइकलमा तोडफोड भएको प्रहरीले जनाएको छ । सरकारले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी तोक्न आनकान गरेको भन्दै विगत पाँच सातादेखि जिल्लामा दिनहु‘जसो प्रदर्शन जारी रहेको छ ।

स्थानीयबासीले क्षेत्रीय प्रशासन कार्यालय घेराउ, धर्ना लगायतका कार्य गर्दै आइरहेका छन् । सरकारले आफ्नो माग सुनुवाई नगरेकाले आन्दोलनलाई शसक्त पारिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । पर्याप्त पुर्वाधार र राणाकालदेखि हालसम्म प्रशासनिक केन्द्रको रुपमा रहेको धनकुटालाई प्रदेश नं.१ को राजधानी घोषणा गरिनुपर्ने माग रहेको प्रदेश ‘ख’ का सांसद इन्द्रमणी पराजुलीले बताए ।