काठमाडौं-बर्दिया निकुञ्ज र सीमावर्ती भारतीय कर्तरनियाघाट वन्यजन्तु आरक्षबाट बस्ती छिरेका जंगली हात्तीले सातायता दर्जनभन्दा बढी घर भत्काउनुका साथै ५० बिघामा लगाएको गहुँबालीमा क्षति पुर्‍याएको छ ।


ADVERTISEMENT


प्रहरीले दिएको जानकारीअनुसार ठाकुरबाबा २ रानीपुरमा मीनबहादुर शाही, पार्वती खडकालगायत सीमावर्ती राजापुर १० का रती सुनार, रामलाल चौधरी, गोपाल थारूसहित दर्जनभन्दा बढी घर भत्काएको छ । हात्तीले आतंक दिनहुँ हुने गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । स्थानीयका अनुसार हुलका हुल हात्ती आउने गरेको छ ।


ADVERTISEMENT

# # #


गत वर्ष पुस १३ गते गेरुवा हात्तीखल्लाकी ३२ वर्षीय विमला परियारलाई प्रसेनी बजारमा हात्तीले कुल्चेर मारेको थियो । निकुञ्जबाट प्राप्त तथ्यांकमा १७ वर्षमा हात्तीको आक्रमणबाट ३६ जनाको ज्यान गएको छ । गत वर्षमात्र जंगली हात्तीको आक्रमणमा परी मध्यवर्तीका ६ जनाको ज्यान गएको थियो । ६ जना अपांग छन् । उक्त अवधिमा ५ सय घर, ६० बिघा जमिनको खेती र २ सय ५० जनाको भण्डारण गरिएको अन्न हात्तीले नोक्सान गरेको निकुञ्जले जनाएको छ ।

गत आवमा जंगली हात्तीले झन्डै सयभन्दा बढी कच्ची घर भत्काएको थियो । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले हात्ती गाउँ पसेको जानकारी पाउनासाथ सुरक्षाका लागि तैनाथ नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती त्यसतर्फ
गएको बताए ।

रातभर जंगलमा बस्ने र साँझ पर्नासाथ गाउँ छिरेर आतंक मच्याउने हात्ती नियन्त्रणका लागि निकुञ्ज टोली खटिए पनि आतंक नरोकिएको निकुञ्ज प्रशासनले बताएको छ । नेपाली सेनाले दैनिक फायर गरेर हात्ती भगाउने गरेको छ । फायरसँग पनि हात्ती डराउन छोडेकाले स्थानीय झन त्रसित छन् ।