काठमाडौँ– नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेर जाने तयारी गरेको छ ।
पार्टी केन्द्रिय कार्य समितिको जारी बैठकमा नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गरेर जानुपर्नेमा जोड दिएका हुन ।


ADVERTISEMENT


‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका दलहरुसँग सहकार्य गरेर राष्ट्रिय सभाको निर्वाचनमा जाने विषयमा बैठक केन्द्रित भयो’ नेता बालकृष्ण खाँडले भने । लोकतान्त्रिक गठबन्धनमा आबद्ध राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) लगायतका दलहरुसँग चुनावी तालमेलका लागि कार्य दल नै गठन गर्ने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहेको नेता खाँडले जनाए ।
काँग्रेसले राष्ट्रिय सभामा प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेदवार बनेकाहरुलाई उम्मेदवार नवबनाउने मापदण्ड पनि तय गर्ने स्पष्ट पारेको छ । नेता खाँडले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका जुझारु र प्रखर नेताहरुलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने विषयमा केन्द्रिय समितिमा छलफल भईरहेको पनि जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा नेताहरुले निर्वाचनको गम्भीर समीक्षा गरी पार्टीलाई सुदृढ बनाउन तत्काल केन्द्रिय समिति र महासमिति बैठक बोलाउन पनि पार्टी नेतृत्वसँग माग गरेका छन् । यही केन्द्रिय समितिले अर्को केन्द्रिय समिति बैठक र त्यसपछि बस्ने महासमिति बैठकको मिति तोक्नुपर्ने माग गरिएको युवा नेता प्रदिप पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिबारबाट सूरु भएको केन्द्रिय कार्य समिति बैठक आजै सम्पन्न गर्न काँग्रेसको तयारी छ । बैठकमा धेरैजसो नेताहरुले निर्वाचनमा पराजय हुनुको पछाडि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य दोषी रहेको औल्याएका छन् ।

यता, देउवा पक्षले भने निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनमा महत्वपूर्ण काम सम्पन्न गराएको भन्दै पार्टी सभापति देउवाको बचाउ गरिरहेका छन्