काठमाडौं-प्रदेशसभामा निर्वाचित सदस्यहरूले आइतबार शपथ लिने भएका छन्। सातवटै प्रदेशका सदस्यलाई आज पद तथा गोपनीयतको शपथ गराउने कार्यक्रम छ। प्रदेश नम्बर १ बाट प्रदेशसभामा निर्वाचित सदस्यहरूलाई विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले शपथ गराउने छन्।


ADVERTISEMENT


आइतबार बिहान १० बजे प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। सभागृहबाहिर सर्वसाधारणका लागि ठूलो स्क्रिनको टेलिभिजनबाट सभा हलभित्रका गतिविधि निरन्तर प्रसारण गर्ने व्यवस्था मिलाइएकोसमेत उनले बताए।


ADVERTISEMENT

# # #


यसैगरी प्रदेशसभा २ का सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश प्रमुखले शपथ गराउने भएका छन् । जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा बैठक सञ्चालन गर्ने सरकारले तयारी गरेको छ। मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय पनि सोही स्थानमा राख्ने तयारी छ। प्रदेशसभा बैठक कक्ष तयार भइनसकेकाले प्रदेश सदस्यहरुलाई शपथ गराउन जनकपुर उद्योग वाणिज्य संघको सभा हल प्रयोग गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

प्रदेश ३ का १ सय १० सांसदलाई हेटौंडास्थित प्रदेश सचिवालयमा आइतबार बिहान ११ बजे शपथ प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ गराउने भएकी छन्। क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनलाई प्रदेश सचिवालय बनाइएको छ।

मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुख कार्यालय बनाइएको मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले जानकारी दिए। प्रदेश ३ का मुख्यमन्त्री र मन्पिरिषद्को कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा, सभामुख र उपसभामुखको कार्यालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा राखिएको छ । प्रदेशसभा बैठक कक्षका लागि वासुदेव सभा गृहमा पूर्वाधार निर्माण जारी छ।

प्रदेश–४ का प्रमुख बाबुराम कुँवरले आज प्रदेशसभा सदस्यलाई शपथ गराउने भएका छन्। पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालय सभा हलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

५ नम्बर प्रदेशसभामा निर्वाचित सदस्यलाई बुटवलस्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ गराइने भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराउने भएका छन्। प्रदेश प्रमुखको सचिवालयका लागि रुपन्देही व्यापार संघको भवन प्रयोग गरिनेछ । त्यसैगरी प्रदेश प्रमुखको निवास सीप विकास तालिम केन्द्रमा रहने व्यवस्था मिलाइएको रुपन्देहीका सिडिओ हरिप्रसाद मैनालीले जानकारी दिए।

प्रदेशसभा ६ का सांसदहरूलाई आइतबार बिहान ११ बजे प्रदेश शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ। अधिकांश सांसदहरू काठमाडौंमै भएकाले उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिनेछ।

त्यस्तै प्रदेश ७ का सांसदलाई कैलाली जिल्ला समन्वय समितिको हलमा प्रदेश प्रमुखले शपथ गराउनेछन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार सबै तयारी पुरा भइसकेको छ।