एजेन्सी– प्यालेस्टाइनको चरमपन्थी संगठन हमासले इजरायलसँगको चार दिने युद्धविराम स्थानीय समयअनुसार बिहीबार बिहान १० बजेदेखि लागू हुने जनाएको छ । सम्झौता अनुसार हमासले गाजाका ५० बन्धकहरूलाई र इजरायली जेलबाट १५० प्यालेस्टिनीलाई रिहा गर्ने छ । इजरायलले तीन सय प्यालेस्टिनी बन्दीहरूको सूची जारी गरेको छ जसमध्ये १२१ जना नाबालिग छन् ।
सम्झौतापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकहरूलाई फिर्ता ल्याउन आफूहरु प्रतिबद्ध रहेको तर हाल ५० जना बन्धकहरूबारे सम्झौता भएको बताए । सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले भने, ‘इजरायल–हमासले चार दिनका लागि युद्धमा अस्थायी रोक लगाउने सहमति गरेको छ ।
यस युद्धविरामको बदलामा हमासद्वारा बन्धक बनाएका ५० इजरायलीलाई रिहा गरिनेछ र १५० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट रिहा गरिनेछ।’
विश्वभरका शीर्ष नेताहरूले सम्झौताको स्वागत गरेका छन्, तर केही नेताहरूले अझ लामो अवधिको युद्धविरामको लागि आह्वान गरेका छन्। गाजामा बन्धक रहेका परिवारहरू प्रत्येक बन्धक घर फर्कनु पर्ने बताएका छन् ।
यसैबिच, इजरायली सेनाले केही भिडियो फुटेज साझा गरेको छ र जसमा उनीहरूले गाजामा हमासको ४०० सुरुङहरू ध्वस्त पारेको दाबी गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका सल्लाहकार मार्क रेगेभले पहिलो प्राथमिकता बन्धकमा परेका महिला र बालबालिकालाई रिहा गर्नु रहेको बताए।