काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तोपबहादुर मगरले दुई समूहले आज काठमाडौँमा आयोजना गर्न लागेको शक्ति प्रदर्शनलाई आयोगले नजिकबाट निगरानी गरी अनुगमनका लागि टोली परिचालन गर्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौँका दुई स्थानमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले विभिन्न माग राखी गर्न लागेको शक्ति प्रदर्शन हिंसात्मक हुन सक्ने देखिएको भन्दै त्यसप्रति आयोग सतर्क र सजग रहेको अध्यक्ष मगरले बताए ।


ADVERTISEMENT

# # #


उनले आयोगले जिल्लाहरूमा रहेका शाखा मार्फत पनि निगरानी गरिरहेको उल्लेख गर्दै आयोग आजको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन सतर्क रहेको बताए ।

‘आयोगले अनुगमन गर्न टोली पठाउँछ । अनुगमन टोली दुवै ठाउँमा जान्छ । भोलि टोलीले कार्यक्रम स्थलमा गएर त्यहाँको अनुगमन गर्छ, त्यहाँ के गर्नुपर्छ र कुन अवस्था आउँछ भन्ने कुरा हाम्रो टोलीले राम्ररी हेर्छ । त्यसको लागि कार्ययोजना बनाइसकेका छौं । हिंसा हुन नदिन सतर्क छौं,’ अध्यक्ष मगरले भने ।

आयोगले भोलिको प्रदर्शनलाई नजिकबाट निगरानी गरी टोली नै परिचालन गरेर फिल्डमा खटाउन लागेको भन्दै उनले मानव अधिकारको रक्षा, प्रवर्द्धन र सम्वर्द्धन गर्न आयोग दृढ भएर लागेको जानकारी दिए ।

उनले सरकारलाई भोलि हुन लागेको दुवै समूहको शक्ति प्रदर्शन शान्तिपूर्ण बनाउन ध्यानाकर्षण गराएका छन् । यसैबीच, स्वतन्त्र कानून व्यवसायी मञ्चले भोलि हुने दुई समूहको प्रदर्शनको मुख्य उद्देश्य नै एक समूहले अर्को समूहलाई निषेध गर्न, हिंसा भड्काउनेतर्फ लक्षित देखिएको भन्दै आयोगका अध्यक्ष मगरलाई स्थलगत निरिक्षण र मानव अधिकार हनन र हिंसा हुन नदिन सतर्कता अपनाउन ज्ञापन पत्र बुझाएको छ ।