कपिलवस्तु-बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका ६ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।


ADVERTISEMENT


जिल्लाको कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बिचमै रोकिने भएको हो ।


ADVERTISEMENT

# # #


बहुवर्षिय ठेक्कामार्फत निर्माणाधिन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि काम बीचमै रोकिने सम्भावना बढेर गएको छ । गत आर्थिक वर्षमा कपिलवस्तुका क्षेत्रीय तथा पर्यटकीय महत्वका ६ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्न डिभिजन सडक कार्यालयले ठेक्का लगाएको थियो ।

अर्थ मन्त्रालयले आव ०७३/७४ मा २१ वटा सडक स्तरोन्नति तथा निर्माण गर्न आठ लाख रुपैयाँका दरले बजेट दिएको थियो । जसमध्ये ६ वटा सडकलाई बहुवर्षिय आयोजनामार्फत ठेक्का लगाउन अर्थले सहमति दिएको थियो । सोहि अनुसार ठेक्का लगाई पहिलो चरणमा रकम निकासा गरेको अर्थले दोस्रो चरणमा भने बजेट नै नछुट्याएपछि समस्या सिर्जना भएको छ ।

डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुले गत आवमा ठेक्का सम्झौता गरी अहिलेसम्म सबै सडकमा काम भइरहेको जनाएको छ । डिभिजन प्रमुख रमेश पौडेलले चालु आवमा अर्थले रकम विनियोजन नगरेको बताए । बजेट नहुँदा कामको भुक्तानी दिनसमेत समस्या भएको उनले बताए । ‘तीन वर्षको ठेक्का सम्झौता भएको छ, पहिलो चरणको भुक्तानी दियौं, अब बजेट नै छैन कसरी काम अघि बढाउने ?’ उनले प्रश्न गरे ।

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गदेखि प्राचिन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको आठ किलोमिटर सडक निर्माण द्रुत गतिमा भइरहेको छ । सात मिटर चौडा कालोपत्रे सडक निर्माणका लागि १५ करोड रुपैयाँमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ ।

तर ठेकेदार कम्पनीले २५ प्रतिशतभन्दा बढीको काम गरिसकेको कार्यालयले जनाएको छ । ठेकेदार सागर भुसालले अहिलेसम्म चार करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गरे । ‘गरेको कामको समेत पैसा पाएको छैन, सडकले रकम छैन भन्छ, अब कसरी काम गर्ने ?’ उनले भने । भुसालमात्र नभई अन्य पाँचवटै निर्माण कम्पनीले माघ महिनाभित्र रकम नआए काम रोकिने बताएका छन् ।

सडक विभागले साउनमै बजेट विनियोजन गरिदिन माग गरेपनि अर्थले स्थानीय तथा प्रतिनिधि सभा निर्वाचनको कारण ढिलाइ भएको बताउँदै आएको डिभिजन प्रमुख पौडेलले बताए । ‘मौखिक रुपमा अर्थले आश्वासन दिएको छ तर कार्यान्वयन कहिले गर्छ थाहा छैन,’ उनले भने ।