काठमाडौं-भूकम्पका कारण अति प्रभावित १४ जिल्लामा पछिल्लो समय निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ । निजी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम उपलब्ध गराउने प्रमाणीकरण हुनेको सङ्ख्या बढेका आधारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण तीव्र रूपमा भइरहेकोे दाबी गरेको हो ।


ADVERTISEMENT


निजी आवास निर्माणका क्रममा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्या करिब दुई लाख पाँच हजार पुगेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले उपलब्ध गराएको जानकारीअनुसार मङ्गलबारसम्म दुई लाख चार हजार ९९३ लाभग्राहीलाई दोस्रो किस्ताका लागि प्रमाणीकरण गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणले पहिलो किस्ताको ५० हजार लिएर घरको भूकम्प प्रतिरोधी हुने किसिमको जग हालेर प्लेथसम्म निर्माण गरेका लाभग्राहीलाई गारो निर्माणका लागि दोस्रो किस्ता उपलब्ध गराउन प्रमाणीकरण गर्ने कार्यविधि अपनाएको छ ।

प्राधिकरणको निर्देशक समितिले २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा यही पुस मसान्तसम्म तोकिएको थियो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसाल बताउछन्, “भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा इञ्जिनियर, प्राविधिक खटिएका तथा दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण पनि निजी आवास पुनःनिर्माणले गति लिएको हो । ”

दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३८८ लाभग्राही छन् भने सबैभन्दा कम भक्तपुरका एक हजार ९२१ लाभग्राही छन् । भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामा दोस्रो किस्ताका लागि लाभग्राहीको लगत सङ्कलन भइरहेको छ ।

त्यस्तै सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण सम्पन्न भएका र निर्माणाधीन घरको कुल सङ्ख्या तीन लाख ६० हजार ४७८ पुगेको छ । तथ्याङ्कअनुसार निर्माण सम्पन्न भएका घरको सङ्ख्या ९० हजार २६२ छ भने निर्माणाधीन घरको सङ्ख्या दुई लाख ७० हजार २१६ छ ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्कअनुसार धादिङमा सबैभन्दा धेरै १८ हजार ९४० घर पुनःनिर्माण भएका छन् भने सबैभन्दा कम भक्तपुरमा ३६२ घरमात्र निर्माण भइरहेका छन् ।