काठमाडौं-जिल्ला अस्पताल पाँचथरले करिब एक महिनादेखि नयाँ भवन निर्माण सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले २१ करोड ३४ लाखमा सो भवन निर्माणको जिम्मा लिएको छ ।


ADVERTISEMENT


जिल्ला अदालत पाँचथर पनि भवन निर्माणको चरणमा छ । ३ करोड ३७ लाख लागतमा निर्माण हुन लागेको सो भवन जिल्लाको ठूला भवनमध्येमा पर्छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले निर्माण गर्दै गरेको भवन पनि जिल्लाका ठूला भवनमध्ये पर्छ ।


ADVERTISEMENT

# # #


तर, अधिकांश सरकारी भवन नक्सा पासविनै निर्माण भइरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार भवन निर्माण अघि नक्सा पास अनिवार्य छ । तर, अधिकांश सरकारी कार्यालयले सो कानुनी व्यवस्थालाई बेवास्ता गरिरहेका छन् ।

राज्य पुनर्संरचनासँगै नगरपालिकाले सो कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नगरपालिका नै अलमलमा छ । नगरपालिका स्थापना भएयता बनेका भवनको पनि नक्सा पास छैन । नक्सा पास नभएका धेरै सरकारी तथा गैरसरकरी निकायका भवन निर्माताले नक्सा पास गर्न अपनाउनुपर्ने न्यूनतम तयारीसमेत गरेका छैनन् ।

नगरपालिका बन्नुपूर्वका भवनलाई फिदिम नगरपालिकाले अभिलेखीकरण गर्ने प्रावधान बनाए पनि कसैले त्यसलाई अवलम्बन नगरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । ‘हामीले नियमसंगत भवन निर्माणका लागि लगातार काम गरिरहेका छौँ,’ उनले भने, ‘नक्सा पासविनै भवन बनाइरहेका ६० जनालाई सचेत गराएका छौँ ।’