काठमाडौँ– बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ को पहिचान खुलाउनेविरुद्व साइबर ब्यूरोमा जाहेरी परेको छ ।


ADVERTISEMENT


गौशाला २६ को पहिचान  खुलाउन खोजेको भन्दै ६ वटा सामाजिक सञ्जालका पेजविरुद्व दुईवटा कसुरमा अनुसन्धान गरिदिन जाहेरी परेको हो ।


ADVERTISEMENT

# # #


पिडितको पहिचान खुलाउने खोज्नु कानुनविरुद्व रहेको भन्दै सो गतिविधि वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर –विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै उजुरी परेको छ ।

हाल अनुसन्धानमार्फत उजुरी परेकाहरुको खोजी भइरहेको ब्यूरोले जनाएको छ ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई बुधवार जिल्ला अदालत काठमाडौँले ८ वर्ष कैद भुक्तानको सजाय सुनाएको थियो । त्यसयता विभिन्न व्यक्तिहरुले पिडित गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेका छन् ।

यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का एक कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत गौशाला २६ को भन्दै एक युवतीको तस्बीर सार्वजनिक गरेका थिए । सामाजिक सञ्जाल प्रयोगमा असंवेदनशील रहेको भन्दै रास्वपाले उक्त कार्यकर्तामाथि कारवाही समेत गरिसकेको छ ।

यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर सार्वजनिक गर्न कानुनले रोक लगाएको छ। अन्यथा पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।