काठमाडौं-स्वदेशीभन्दा आयातित चिनी सस्तो पर्न थालेपछि उद्योगीहरुले ५० प्रतिशत भन्सार शुल्क लगाउन माग गरेका छन् । हाल चिनीमा १५ प्रतिशत भन्सार शुल्क लगाइँदै आएको छ । यसलाई नबढाएसम्म स्वदेशी चिनी बेच्न नसक्ने उद्योगीहरुको भनाइ छ ।


ADVERTISEMENT


नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले आयातित चिनीमा भन्सार महशुल वृद्धि गर्दा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने दावी समेत गरे । स्वदेशी चिनी उद्योगमा गम्भिर असर पर्नेगरी आयात हुँदा समेत कुनै चासो नदिएको उनको गुनासो छ । अन्तर्राष्ट्रियस्तरमा मूल्य घटेपछि नेपालमा आयातित चिनीको मूल्य हाल ८० रुपैयाँको हाराहारीमा पर्ने गरेको छ । यो साल्ट ट्रेडिङ कर्पोरेसनले तोकेभन्दा पनि सस्तो हो । साल्ट ट्रेडिङले हाल उपत्यकामा बेच्ने चिनीको मूल्य प्रतिकेजी ८२ रुपैयाँ छ ।


ADVERTISEMENT

# # #


नेपालमा पाकिस्तानबाट सस्तो चिनी आयात हुन थालेको व्यवसायीहरु बताउँछन् । सुगर मिल्स एसोसिएसनका महासचिव राजेश केडियाले चिनी उत्पादनमा आफूहरुको लागतभन्दा आयातित सस्तो भएपछि गोदममै थन्क्याउन बाध्य भएको बताए ।

‘उत्पादनमा हाम्रो लागतभन्दा बाहिरबाट आउने चिनीको मूल्य सस्तो पर्न थाल्यो, जसले गर्दा स्वदेशी उत्पादन गोदाममै थन्क्याउन बाध्य छौँ’ केडियाले भने । अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तिएपछि भारतले समेत भन्सार महसुल बढाएको बताउँदै उद्योगीहरुले नेपालमा कम्तीमा ५० प्रतिशत भन्सार शुल्क लगाउनुपर्ने माग गरेका छन् ।

उद्योगीका अनुसार कतिपय व्यवसायीले पाकिस्तानबाट चिनी आयात गर्न थालेका छन् । पाकिस्तानमा उत्पादित चिनी यहाँ ल्याउँदा ६० रुपैयाँ पर्ने गरेकाले व्यवसायीहरु यसतर्फ आकर्षित भएको उद्योगीहरुको भनाइ छ । उखुको उच्च मूल्य, विद्युत आपूर्तिको समस्या लगायतका कारणले चिनी उत्पादनको लागत उच्च भएको उद्योगीको भनाई छ ।

यदी भन्सार शुल्क नबढाउने हो भने उद्योगीलाई प्रतिकेजी १० रुपैयाँ नगद अनुदान दिनुपर्ने उनीहरुको माग छ । ‘हामीले उत्पादन गरेको चिनी सरकारले नै खरिद गरिदिनुपर्यो, अहिलेको बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिँदैन’ केडियाले भने ।

नेपालमा वार्षिक २ लाख २५ हजार मेट्रिक टन चिनी खपत हुने गरेको तथ्याङ्क छ । जसमा १ लाख ७५ हजार मेट्रिक टन स्वदेशी चिनीको खपत हुने गरेको छ । बाँकी ५० हजार मेट्रिक टन चिनी आयात भइसकेको उद्योगीहरुले बताएका छन् ।

उखु उत्पादक किसानहरुले भने अहिले कायमभन्दा सस्तो मूल्य बिक्री गर्न नसकिने बताएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले मल तथा अन्य सहुलियत नदिएसम्म उखुको मूल्य घटाएर बेच्न नसकिने बताए ।

हाल उखुको मूल्य प्रतिक्वीन्टल ५३१ रुपैयाँ २० पैसा तोकिएको छ । अहिले तोकिएको मूल्यबाट समेत आफूहरुले लाभ लिन नसकेको किसानको गुनासो छ । यस वर्ष नेपालमा १ लाख बिघा जमिनमा उखु खेती गरिएको र यसबाट २० लाख मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।