काठमाडौं-ट्रक व्याक भएर मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतिको मृत्यु भएको छ । पुर्वी रूकुमको मोरावाङ घर भएका ३२ वर्षीय दिलिप बुढा र ३० वर्षीय सम्झना पुन बुढाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कपुरकोट तल्लो बजारमा रा १ ख ९३९ नम्बरको मिनी ट्रकले आइतबार बेलुका साढे ६ बजेतिर उकालोमा चढ्दै गरेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाई व्याक भएर ठक्कर दिँदा बुढा दम्पत्ति गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई राप्ती अञ्चल अस्पतालमा पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दाङ तर्फ आउँदै गरेको र उकालोमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनी ट्रक स्टार्ट नभएपछि चालकले व्याक गेयरमा स्टार्ट गर्न खोजेका थिए । व्याक गियरमा पनि स्टार्ट नभए पछि ब्रेक नलागेर उकालो चढ्दै गरेको मोटरसाईकललाई ट्रकले ब्याक भएर किचेको थियो।

मृतक बुढा दम्पत्तिले मुसिकोट नगरपालिका १ मा होटल सञ्चालन गर्दै आएका थिए । व्यापारकै सिलसिलामा बुढा दम्पत्ति दाङ आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मिनी ट्रक र चालक तुलाराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।