काठमाडौँ– नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा जनयुद्ध दिवस र पार्टीको विधान सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले जनयुद्धका कारण भएको परिवर्तनमाथि षडयन्त्र भइरहेको भन्दै जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जनयुद्धकै कारण मुलुकमा ठूलो परिवर्त भएको भन्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसैलाई पनि अधिकार नभएको बतए । उनले यसअघि भएका कमी कमजोरीको समीक्षा गरी माओवादी मोर्चालाई एकताबद्ध गर्न ढिलाई गर्न नहुने जिकिर गरे ।

जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने उनको भनाई छ । अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतले त्यसलाई उल्टाएको र अदालतको आदेशलाई स्वीकार गरेको बताए । उनले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको भन्दै भविष्यमा सरकारी तवरबाटै जनयुद्ध दिवस मनाउने अवस्था आउन सक्ने जिकिर गरे ।

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने उनले बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ ।

पार्टीलाई व्यवस्थित रुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।