काठमाडौँ– अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने देखिएपछि अर्धवार्षिक समिक्षामार्फत राजस्वको अनुमान संशोधित गरिएको जनाएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले राष्ट्रिय अन्तराष्ट्रिय परिवेशका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको र त्यसको प्रभाव राजस्वमा पनि देखिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेकोमा मध्यावधि समीक्षामा राजस्व १२ खर्ब दुई अर्ब मात्रै उठ्ने आँकलन गरिएको उनले बताए । पछिल्लो समय मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै राजस्वमा भने त्यसको तुरुन्त असर नपर्ने उनले जनाए ।

बैठकमा समिति सदस्यहरुले राजस्व सङ्कलनलाई वैज्ञानिक र समयसापेक्ष बनाइनुपर्ने, कर छली नियन्त्रण गर्नुपर्ने सुझाव दिएका थिए । समिति सदस्य बिष्णु पौडेलले राजस्व संकलनमा हात उठाएको अवस्था रहेको बताए ।

अहिलेको अवस्थामा सरकारको राजस्वको लक्ष्य पुरा हुन नसक्ने उनको भनाई छ । त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले एकै बर्षमा अर्थतन्त्रमा देखिएको समस्या समाधान नहुने भएपनि सरकारले सकारत्मक प्रयास गर्नुपर्ने बताए ।

त्यस्तै समिति सदस्य ज्ञान बहादुर शाहीले कर प्रणालीलाई डिजिटल गर्नुपर्ने, बिलको न्यून मूल्याङ्कनलाई रोक्नुपर्नेमा जोड दिए । समितिले बजेट घटाउनुपर्ने कारण, राजस्व संकलनको कार्ययोजना लगाएतका बिषयमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय गरेको छ ।