काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो सिरिजमा नेपालले घरेलू मैदानमै खराब प्रदर्शन गरेको छ । आइतबार चौथो अर्थात् अन्तिम खेलमा पनि नेदरल्याण्डसँग ८ विकेटले पराजित भएसँगै त्रिकोणात्मक सिरिजका ४ मध्ये ३ खेलमा हार व्यहोर्नुपरेको हो ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनायोृ । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्डले ३७.५ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेको हो ।
तेस्रो विकेटका लागि विक्रमजित सिंह र साइब्रान्ड एंगेलब्रेक्टले नटआउट १०२ रनको साझेदारी गरेपछि नेदरल्याण्डले यसअघिको ठूलो हारको बदला लिकएको हो । नेदरल्याण्डलाई जित दिलाउनेक्रममा विक्रमजितले नटआउट ५८ तथा एंगेलब्रेक्टले नटआउट ४८ रनको योगदान दिए । यस्तै माइकल लेभिट ३९ तथा म्याक्स ओडाउटले २८ रनको योयदान गरे ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । करण केसी पुनः विकेटविहीन रहे । यसअघि सुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याटरले पुनः जिम्मेवारी बिर्सिँदा नेपालको निराशाजनक प्रदर्शनले निरन्तरता पायो । नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाएपछि नेपालको इज्जत जोगिएको थियो ।
यस्तै अन्तिममा आएका करण केसीले २६ र आरिफ शेखले २२ रन जोडे भने आशिफ शेअ १७ तथा रोहित पौडेल १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बिहानीपखको फाइदा उठाउँदै नेदरल्याण्डका आर्यान दत्त र भिभियन किग्माले समान ३–३ विकेट हात पारे । यस्तै बास डीलिडेले २ तथा रायल्फ भान डेर मर्भीले १ विकेट हात पारे ।
४ खेल मध्ये ३ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुनै खेलमा पनि ५० ओभर पूरै खेल्न सकेन । लिग–२ को नेपाल त्रिकोणात्मक सिरिजमा नामिबियाले ४ मध्ये ३ खेल जित्यो भने नेदरल्याण्डले ४ मध्ये २ जित हात पार्यो । घरेलू भूमिमै नेपालले ४ मध्ये एउटा जितमै चित्त बुझाउनु परेकोे छ ।