– देवराज अर्याल


ADVERTISEMENT


नेपालको सबैभन्दा अग्रज र ठूलो विश्वविद्यालयको रुपमा स्थापित त्रिभुवन विश्वविद्यालयको बीसौं उपकुलपतिमा नियुक्त हुन सफल हुनु भएका प्रा.डा.केशरजङ्ग बराल यतिबेला सर्वाधिक चासोको सूचिमा हुनुहुन्छ । मुलुकको प्राज्ञिक र शैक्षिक क्षेत्रमा नवनियुक्त उपकुलपति प्रा.डा. बरालको बारेमा चासो र चर्चा हुनु त स्वाभाविक नै हो । तथापि, उहाँको चर्चा यतिबेला मुलुकको सिंगो राजनीतिक र आर्थिक क्षेत्र एवं जनस्तरमा समेत व्यापक रुपमा भइरहेको छ ।


ADVERTISEMENT

# # #


यस मानेमा कि प्रा.डा.बराल प्रतिस्पर्धाको आधारमा छानिएर त्रिविको उपकुलपति नियुक्त हुनु भएको हो । त्रिविको उपकुलपति हुन उत्कट अभिलाषा राखेर आवेदन दिएका ४३ जना उच्च प्राज्ञिक व्यक्तित्वहरु मध्येमा प्रा.डा. बराल नम्बर एक साबित हुनु भएको छ । यसअर्थमा नवनियुक्त उपकुलपति प्रा.डा. बरालप्रति अपेक्षाकृत बढ्ता चासो हुनु स्वाभाविक हो । गत शुक्रबार भएको उहाँको पदबहाली कार्यक्रममा प्रकट भएको व्यापकस्तरको स्वागत उत्सवले पनि यही तथ्यलाई इंगित गर्दछ ।

टिप्पणीसँगै सुझाव

हुन त उपकुलपतिमा उत्कृष्ट हुन नसकेका केही आवेदित व्यक्तित्वहरुबाट उपकुलपति नियुक्ति प्रक्रियामा हेराफेरि भएको टिप्पणीहरु पनि आएका छन् । तथापि, यस्ता टिप्पणीहरुको खास माने र अर्थ भने स्थापित हुने अवस्था देखिँदैन । मनोवैज्ञानिक आधारबाट विश्लेषण गर्दा यस्ता टिप्पणीहरुलाई स्वाभाविक प्रकारको मनोगत ‘रिफ्लेक्शन’ को रुपमा लिनुपर्ने हुन्छ । तर, यो टिप्पणीमा पनि समाजका केही तप्काको मनोभावना भने प्रतिविम्बित भइराखेकै छ । यतिमात्र होइन केही राजनीतिक व्यक्तित्व र विद्यायिकाहरुको भावना पनि यस्ता टिप्पणीहरुमा सन्निहीत छन् । नवनियुक्त उपकुलपतिले यस्ता टिप्पणीहरुलाई सहज रुपमा आत्मसात गरी आफ्नो भावी रणनीतिमा सम्बोधन गर्नसक्नु भयो भने ‘स्वस्थ त्रिवि’ को सुनिश्चिताप्रति यो निश्चित रुपमा हितकर नै हुनेछ । नवनियुक्त उपकुलपति प्रा.डा. बरालका लागि पूर्ववत रुपमा प्राप्त भएको यो सुझाव स्वाभाविक छ । र, यसलाई सकारात्मक रुपमा ग्रहण गर्नसके यो महत्वपूर्ण अवसरको रुपमा सावित हुने देखिन्छ । यहाँनेर नेतृत्व गर्ने व्यक्तित्वमा ग्रहणशीलता कत्तिको छ भन्ने सन्दर्भमा विशेष अर्थ राख्दछ ।

सुधारको अपेक्षा

प्रा.डा. बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएको विद्यमान पृष्ठभूमिमा शैक्षिक–प्राज्ञिक क्षेत्रका मानिसहरुले तुलनात्मक रुपमा अलि बढी आशा र अपेक्षा गरेका छन् । यस्तो आशा र अपेक्षा गर्नेहरुमा प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरु त पहिलो पंक्तिमा नै हुने भए । यस अतिरिक्त सरोकारवाला संस्थाहरु र व्यक्तिहरुले पनि निगरानीका साथ उहाँको आगमन र गतिविधिको बारेमा चासो राखेका छन् । यहाँनेर सरोकारवालाहरुको प्रमुख चासो नियमित पठन–पाठन, तोकिएको समय र कार्यतालिकाअनुसार परीक्षा संचालन र परीक्षा नियन्त्रण कार्यालयले लिएको परीक्षाको नतिजा प्रकाशन छिटो होस भन्नेमा छ । यो स्वाभाविक हो की शैक्षिक–प्राज्ञिक क्षेत्रमा नतिजा प्रकाशन सबै प्रकारको लगानीको प्रतिफल हो । जसरी, व्यवस्थापनमा ‘इनपुट, प्रोसेस र आउटपुट’ लाई प्रमुख लक्ष्य बनाएर काम गरिन्छ, त्यसरी नै उच्च शिक्षाको क्षेत्रमा पनि ‘लक्ष्यभेदन’ गर्नुपर्ने अनिवार्य दायित्व हुन आएको छ । विगतमा विभिन्न अवरोधहरुका कारण साचेअनुसार प्रतिफल हासिल गर्न नसकेको र उक्त तथ्यलाई अहिले सबैले महसुस गरेको वर्तमान धरातलमा सुधारका लागि यो पनि एउटा उल्लेखनीय अवसर नै हो ।

उच्च शिक्षामा अनुसन्धानको सवाललाई त पठन–पाठन र प्राध्यापन प्रक्रियाको अनिवार्य अङ्गको रुपमा नै समावेश गरेर अगाडि बढाउनु पर्ने हुन्छ । ज्ञान सिर्जनाको मूल आधार अनुसन्धान भएको हुनाले अनुसन्धानको अपरिहार्यतालाई जो कोहीले पनि नजरअन्दाज गर्न सक्दैन । अनुसन्धानलाई उच्च शिक्षामा जराधार तहबाट नै अभ्यासमा ल्याउनु पर्दछ । यसमा नवनियुक्त उपकुलपति प्रा.डा. बरालले पदबहालीको क्रममा विशेष महत्वका साथ ‘इण्डिजिनियस नलेज’ को अन्वेषण, उत्खनन् र विस्तार गर्न जोड दिनुपर्ने बताउनु भएको छ । यो अवधारणा नेपालको सन्दर्भमा आफैमा मननीय छ र त्रिभुवन विश्वविद्यालयको गरिमालाई उच्च बनाउनका निम्ति पनि यसको आवश्यकता विशेष रुपमा रहेको छ ।

यसैगरी भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको व्यवस्थापन समयको माग र औचित्यताको सिद्धान्तअनुसार गर्दै जान सकिन्छ । प्राध्यापक, शिक्षक र कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा र वृत्ति–विकास तथा पदोन्नतिका अवसरहरुलाई पनि नियमित गर्दैजानु पर्ने टड्कारो आवश्यकता छ । वास्तवमा नवनियुक्त उपकुलपतिले तत्काल गर्नु पर्ने प्राथमिक कार्यभारहरु भनेका यिनै हुन । उल्लेखित अभिाराहरुलाई पूरा गर्ने सन्दर्भमा वर्तमान उपकुलपति कति सफल हुन सक्नुहुन्छ, त्यो आगामी दिनमा उहाँले अपनाउने रणनीति, निर्णय क्षमता, कार्यशैली र संयोजनकारी सिप र उहाँका रहेको ज्ञान र कार्यकुशलताले निर्धारण गर्ने विषय हो । तर, यस क्षेत्रका सरोकारवालाहरु भने उपकुलपति प्रा.डा. बरालको अग्निपरीक्षा शीघ्रातिशीघ्र कामहरुको माध्यमबाट गर्न आतुर भएर बसेका छन् ।

समस्याभन्दा बढ्ता बजार हल्ला

अहिले जसरी बजारमा त्रिभुवन विश्वविद्यालयमा समस्यै–समस्या छ भनेर चर्चा–परिचर्चा भइरहेको छ, यसमा केही हदसम्म सत्यता रहेको छ । तर, यस प्रकारको चर्चा–परिचर्चा अनुसन्धानमा आधारित भने होइन । क्याम्पसहरुमा नियमित रुपमा पठन–पाठन हुने सन्दर्भ र परीक्षा सञ्चालन गर्ने सन्दर्भमा उल्लेखनीय प्रकारको समस्या छैन । यद्यपि, तोकिएको समयमा परीक्षाको नतिजा प्रकाशन हुन नसकेको यथार्थतालाई भने तदारुकताका साथ समाधान गर्नुपर्ने अवस्था छ ।

पछिल्लो समयमा तोकिएको समयमा परीक्षाको नतिजा प्रकाशन गर्ने नसकेको तथ्यले त्रिभुवन विश्वविद्यालयको कार्यकुशलतामाथि प्रश्नहरु उत्पन्न भएका छन् । नवनियुक्त उपकुलपतिले नतिजा प्रकाशनमा भइरहेको विलम्बको विद्यमान नियतिमा समाधान गर्न जस्तोसुकै अप्रिय भए पनि ‘बोल्ड डिसिजन’ गर्नु आवश्यक छ । यहाँनेर प्रविधिमैत्री हुन नसकेका कर्मचारीहरु विस्थापन होलान् भन्ने आग्रहजन्य भावना राखियो भने परिणाम सोचेअनुसार आउन सक्दैन । नयाँ–नयाँ प्रविधि र उपकरणहरु अभ्यस्त बन्दै जानुपर्ने बाध्यता कर्मचारीहका लागि मात्रै होइन, यो सबैका लागि हो । त्यसका लागि विश्विविद्यालयले सिक्ने अवसरको वातावरण तयार गर्नुपर्छ भने पनि पछडि पर्नु हुँदैन । तर, कामको सक्षमतासँग सम्झौता र मोलाहिजा भने किमार्थ गर्नु हुँदैन ।

उपकुलपतिको नयाँ सोच

नवनियुक्त उपकुलपतिले त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्थामा सुधार ल्याउन चार वर्षे स्नातक तहको शैक्षिक कार्यक्रमलाई तीन वर्षमा ल्याउने कुुरा गर्नुभएको छ । यसैगरी हालका विषगत विभागहरुलाई खारेज गरेर स्कुलको अवधारणामा जान सकिने जनाउ दिनुभएको छ । यहाँनेर खर्च कटौतीको पनि प्रसंग आएको छ । उल्लेखित सवालहरुलाई निश्चित रुपमा डिस्कोर्षमा लैजान सकिन्छ । यद्यपि, उल्लेखित एजेण्डाहरुमा विमर्श गरिरहँदा त्रिभुवन विश्वविद्यालयको विद्यमान भीमकाय संरचनालाई रुपान्तरण गर्ने बारेमा पनि प्रर्याप्त ध्यान दिन आवश्यक भैसकेको छ ।

यस सन्दर्भमा बहस चलाउँदा विकसित नवीनतम् प्रविधि, उपकरण र सोचहरुको विद्यमान धरातललाई सामजस्यता अपनाउने कुरालाई अनदेखा गर्नुहुँदैन । तर, यति गर्दैमा विद्यामान अवस्थामा सुधार आइहाल्छ भनेर ढुक्क हुन भने सकिँदैन । मूल कुरा भनेको शैक्षिक गुणस्तरमा सुधार ल्याउने कुरा हो । सेवा वितरण प्रणालीमा सहजता ल्याउने कुरा हो । अनि विश्वसनीयता र प्राज्ञिक सक्षमताको सुनिश्चितामा गर्ने कुरा हो । यसका लागि प्राध्यापक, कर्मचारी र विद्यार्थी एवं अभिभावकहरुका बीच सहकार्य, समझदारी र समन्वयकारी वातावरणको आवश्यकता पर्दछ । विगतमा त्रिपक्षीय समझदारीको वातावरण निर्माण हुन नसक्दा विश्वविद्यालयको धेरै समय तालाबन्दी मै व्यतित हुन पुग्यो । त्यस्तो नियतिमा अब पुनावृत्ति हुनुहुँदैन भन्ने आमअपेक्षा रहेको छ । नवनियुक्त उपकुलपतिले सामाना गर्नुपर्ने प्रमुख चुनौती यहीनेर खडा भएर बसेको छ ।

प्रतिस्पर्धाले स्थापना गरेको उर्जा

हुन त वर्तमान उपकुलपति खुला प्रतिस्पर्धाबाट छनोट भएर आएको हुनाले तुलनात्मक रुपमा अलि बढी नैतिकबल उहाँमा स्वाभाविक रुपमा रहेको छ । तर, पनि त्रिभुवन विश्वविद्यालयमा विगत लामो समयदेखि जबरजस्त रुपमा गाडिएर रहेको गन्धा राजनीतिको ‘लिगेसी’ अद्यापि कायमै छ । जसले गर्दा विश्वविद्यालयमा स्वाभाविक र स्वतस्फूर्त रुपमा हुनपर्ने निर्णयहरु प्रभावित हुने सम्भावना त्यत्तिकै छ । यो पक्षलाई निराकण गर्न राजनीतिक उच्च तहमै सहमति र समझदारीको वातावरण आवश्यक पर्दछ । त्यसका लागि नवनियुक्त उपकुलपतिले अलि बढी चनाखो भएर भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यसका लागि ‘को आफ्नो’ वा ‘को अर्काको’ भन्ने मान्यताको आधारलाई पूर्णरुपमा हटाएर प्राज्ञिक निष्ठा र श्रेष्ठताको आधारमा जिम्मेवारीको निर्धारण गर्न सक्नु पर्दछ । यद्यपि विश्वविद्यालयप्रतिको अपनत्व भने सबैले महसुस गर्न पाउनु पर्दछ । त्यसका लागि अपनाउनु पर्ने विधिमा उपकुलपतिले नयाँ ढंगले सोच्नु जरुरी छ ।

समन्वय र सहकार्यको आवश्यकता

यहाँनेर सवाल भागबण्डाको पनि आउन सक्ने सम्भावना छ । यो विगतले दिएको विरासत पनि हो । तर, विश्वविद्यालयहरुहरुको सन्दर्भमा भागबण्डा शब्द आफैमा पनि उपयुक्त र औचित्यपूर्ण भने होइन । यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा निरुत्साहित गर्दै लैजानु पर्दछ । त्यसमा पनि प्राज्ञिक र शैक्षिक क्षेत्र भनेको आफैमा फरक र विशिष्ठ विधा हो । त्यसो त प्राज्ञिक र शैक्षिक विषयगत रुपमा पनि संवेदनशील छ । यो सत्य र तथ्यको जगमा अडिनुपर्ने हुन्छ । यो जटिलतालाई सबैले महसुस गर्नुपर्ने हुन्छ । तथापि, राष्ट्रिय परिवेशमा अवलोकन गर्दा सिंगो देश ‘सहमति र समझदारी’कै आधारमा सञ्चालन भएको यथार्थतालाई पनि नजरअन्दाज भने गर्न सकिँदैन । यसको प्रत्यक्ष–परोक्ष असर उच्च शिक्षामा कत्ति पनि पर्दैन भनेर ग्यारेण्टी गर्न सकिँदैन । यो पक्षलाई पनि हेक्का राखेर वर्तमान उपकुलपतिले भूमिका निर्वाह गर्नु पर्ने अवस्था छ ।

यो कार्य वर्तमान सन्दर्भमा चुनौतीपूर्ण छ । यसअर्थमा कि विश्वविद्यालयमा कर्मचारी, विद्यार्थी, प्राध्यापक सबैका छुट्टाछुट्टा संघ संगठनहरु क्रियाशील छन् । वर्तमान उपकुलपतिले विगतमा पोखरा विश्वविद्यालयको उपकुलपति भएर हासिल गरेको समृद्ध अनुभव र रणनीतिक चातुर्यताको समुचित उपयोग यहीँनेर गर्नुपर्ने देखिन्छ । त्यसो भयो भने त्रिभुवन विश्वविद्यालय सुधारका लागि राखिएको विद्यमान कामनाले सार्थकता पाउने छ ।

नेपालको सन्दर्भमा अहिले पनि त्रिभुवन विश्वविद्यालय नम्बर एक विश्वविद्यालय हो । आंज्ञिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पस, विद्यार्थी संख्या, शैक्षिक कार्यक्रमहरुको व्यापकता, संस्थागत संरचना, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय स्तरमा स्थापित शाख, विश्वसनीयता एव वैधताको हिसाबमा अहिले पनि त्रिभुवन विश्वविद्यायको गरिमा उच्च श्रेणीमा छ । स्थापित र योग्य प्राध्यापकहरुको उपलब्धता आफैमा त्रिविका लागि सम्भावनाको बलियो पक्ष हो । त्यसैगरी अचल सम्पत्तिको सन्दर्भमा पनि त्रिवि समृद्ध अवस्थामा छ । यसको व्यवस्थापनमा देखिएको केही कमीकमजोरीहरुको को कारणले समस्या उत्पन्न भएको हो । नवनियुक्त उपकुलपति प्रा.डा. बराल यस सवालमा भलिभाँती जानकार हुनुहुन्छ । यसर्थ उहाँले इमान्दारीका साथ सुधारका लागि पहल गर्नुभयो भने चार वर्षको दौरानमा त्रिविले विगतको गरिमा स्थापित गर्ने छ भन्ने यतिबेला सबैतिरबाट अपेक्षा गरिएको छ ।