काठमाडौँ – भारत सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । शुक्रबार शहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले उक्त भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


उद्घाटन समारोहमा बोल्दै मन्त्रीले आफ्नो मन्तव्यमा भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे । यस्तै भारतीय राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३.७८ करोड नेपाली रुपैयाँ अनुदान सहयोगमा पुनर्निर्माण गरिएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

उद्घाटन समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इन्ट्याकका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिवद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।
परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको भारतीय राजदूतावासले जनाएको छ ।