काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले स्थानीय तहमा हुने विकास निर्माण र जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेश सरकार गठन भइरहँदा स्थानीयस्तरमा हुने विकास आयोजनामा अनियमितता हुन सक्ने भन्दै उनले कर्मचारीलाई चनाखो बन्न निर्देशन दिएका हुन् । ‘अबको ध्यान प्रदेश र स्थानीय सरकारको कामकारवाहीमा हुनुपर्छ’, उनले भने ।


ADVERTISEMENT


आयोगको बुटवलमा निर्मित कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै प्रमुख आयुक्त बस्न्यातले प्रशासन चलाउने प्रक्रिया सिक्दै गरेका जनप्रतिनिधिबाट हुने सक्ने गल्तीमा निजामती कर्मचारीसँगै विशेषगरी आयोगका कर्मचारी बढी सचेत हुनुपर्ने बताए । ‘अब गर्ने कामको योजना अहिल्यै बनाएर ल्याउनुस् । भ्रष्टाचार घटाउँदै सदाचार ल्याउनु पहिलो दायित्व हो’, उनले भने । प्रमुख बस्न्यातले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने भन्दै निजामती कर्मचारी र पत्रकारको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


अख्तियारले संघीय संरचनाअनुरूप प्रादेशिक कार्यालय पनि स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए । हाल १० वटा क्षेत्रमा रहेका कार्यालयलाई निकट भविष्यमै सात प्रदेशमा ढालिने उनले जानकारी दिए । ‘हामी प्रत्येक प्रदेशमा भवन निर्माण गर्दै छौं, अब सातै प्रदेशमा आयोग आउनेछ’, उनले भने । संघीय संरचनामा आयोगको काम झन् बढ्ने भन्दै सोहीअनुसार तयारी भइरहेको जानकारी गराए ।

कार्यक्रममा अख्तियारका सचिव राजन खनालले देशको धेरै बजेट खर्च हुने स्थानीय सरकारको विकास निर्माणमा अख्तियारका कर्मचारीको ध्यान जानुपर्ने बताए । ‘जहाँ धेरै बजेट खर्च हुन्छ, त्यहाँ अनियमितता हुन सक्छ । हामीले सेवाग्राहीले राम्रो सेवा पाए पाएनन् भन्ने कुरा पनि हेर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रमुख सचिव शंकर पाठकले यस प्रदेशलाई भ्रष्टारमुक्त बनाउन आफूले सक्दो प्रयास गर्ने बताए । भर्खर प्रादेशिक कार्यालय सञ्चालनमा आउन लागेको भन्दै उनले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेर काम हुने बताए । भाडाको घरमा बस्दै आएको अख्तियारले सडक विभाग परिसरमा दुई वटा भवन बनाएको छ । अख्तियार पोखरा कार्यालयका प्रमुख यदुप्रसाद पन्थीका अनुसार भवन पाँच करोड ८८ लाख रुपैयाँ लागतमा बनेको हो । अख्यियारले सातै प्रदेशमा नयाँ भवन निर्माण गरिरहेको उनले जानकारी दिए ।