काठमाडौं-प्रदेश १ मा एमाले र माओवादी केन्द्रले सरकार बनाउँदै छन् । दुवै दलबीच भएको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्री र सभामुख तथा माओवादीले उपसभामुख पाएको छ । यससँगै सभामुखका लागि एमालेभित्र चर्चा सुरु भएको छ ।


ADVERTISEMENT


एमालेमा मुख्यमन्त्रीका लागि भीम आचार्य, शेरधन राई र जीवन घिमिरेले दाबी गरिरहेका भए पनि सभामुखमा भने खासै चर्चा छैन । एमाले नेताहरूका अनुसार मुख्यमन्त्रीको दौडबाट बाहिरिएका आचार्य वा राईमध्ये एकजनालाई सभामुख बनाउने तयारी छ । उनीहरूले अनिच्छा जनाए मुख्यमन्त्रीकै प्रतिस्पर्धी घिमिरे वा अन्यलाई सभामुखको मौका मिल्नेछ । त्यस्तो हुँदा एमालेले उषाकला राईलाई पनि अगाडि सार्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


सभामुखका लागि एमालेभित्र अलमल रहेका वेला माओवादीले भने उपसभामुखमा लगभग तयजस्तै भएको छ । सभामुखमा पुरुष आउँदा माओवादीले सरस्वती पोखरेल र उमिता बराइलीमध्ये एकलाई उपसभामुख बनाउनेछ । तर, पोखरेलको मन्त्री बन्ने सम्भावना बलियो भएकाले दलित समुदायकी बराइली उपसभामुख बन्न सक्नेछिन । प्रदेश १ का माओवादी नेताहरू पनि बराइलीलाई उपसभामुख बनाउनुपर्ने लबिङमा छन् ।

ज्येष्ठ सदस्य बैठक चलाउने
सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको सञ्चालन गर्नेछन् । प्रदेश १ मा ७४ वर्षीय ओमप्रकाश सरावगीले पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन् । झापाका सरावगी कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

जिससमा सभामुखको कार्यालय

प्रदेश १ मा सभामुख र उपसभामुखको कार्यालयका लागि तयारी सुरु भएको छ । प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश सभाको हल, सचिवालय, सभामुख तथा उपसभामुखको कार्यालयका लागि जिल्ला समन्वय समितिको सभाहल भवन प्रयोग गरिनेछ ।

जिससको तीनतले सभाहल भवनमा पर्याप्त कोठा छन् । हललाई प्रदेश सभा बैठकका लागि प्रयोग गरिनेछ भने पहिलो तलामा सभामुख र उपसभामुखको कार्यालय रहनेछ । यसमा खानेपानी र ढल निकासको राम्रो व्यवस्था छ । तर, बाथरुमको अभाव छ । अहिले त्यसैको व्यवस्थापन कार्य भइरहेको जनाइएको छ ।

कहिले हुन्छ चुनाव ?
संविधानअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ । त्यस्तै संविधानको धारा १८२ को उपधारा २ अनुसार प्रदेश सभाको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्छ । प्रदेश सभा पहिलो बैठक २२ माघमा बोलाइएकाले ८ फागुनभित्र सभामुख र उपसभामुख निर्वाचित भइसक्नेछन् ।