काठमाडौं-दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोल्टी होटल पुगेका छन् ।


ADVERTISEMENT


उनीहरुबीच बिहान ११ बजे भेट तय भएको छ । यादव र स्वराजबीच हिजो नै भेट्ने कार्यक्रम भए पनि राजधानीबाहिर रहेका यादव आइपुग्न ढिला भएकाले आज भेट हुन लागेका हो ।


ADVERTISEMENT

# # #


पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादव स्वराजलाई एक्लै भेट्न लागेका हुन् । स्वराज त्यही होटलमा बसेकी छन् । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वराजसँग एक्लै भेटवार्ता गरेका थिए । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही होटलमा स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए ।

ओली र स्वराजको एक्लाएक्लै भेटवार्तापछि एमाले नेताहरुसँग स्वराजको सामुहिक भेट भएको थियो ।स्वराजले हिजो राति एमाले नेताहरुसँग सामुहिक रात्रीभोज पनि गरेकी थिइन् ।

राजपाका नेताहरुले भने सामुहिक रुपमा नै स्वराजलाई भेटेका थिए । आजै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् ।

उनी आज साँझ भारत फर्कने कार्यक्रम छ ।