काठमाडौं-दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज प्रधानमन्त्री शेरबहादुर देउवासँग लन्च मिटिङ गरेर नयाँ दिल्ली फर्किएकी छन् । एमाले अध्यक्ष तथा भावी प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहीबार साँझ सुरु गरेको स्वराजको भेटवार्ता अन्तिममा प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा पुगेर टुंगिएको थियो ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटका क्रममा स्वराजले आफू नयाँ संविधान बनेपछि तीनवटै तहका निर्वाचन सम्पन्न गराएको बधाई दिन आएको बताएकी थिइन् ।


ADVERTISEMENT

# # #


‘नयाँ संविधान बनेपछि तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिन आएकी हुँ’, स्वराजको भनाई उधृत गर्दे प्रम देउवाका विदेश मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईले सञ्चारकर्मीहरुसँग भने, ‘विदेशमन्त्री स्वराजले प्रधानमन्त्रीसँग भेट गर्दै नेपाल-भारत सम्बन्धका विविध आयामबारे कुरा गर्नुभयो । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन दुवै पक्षले गर्नुपर्ने कामबारे पनि बैठकमा कुराकानी भयो ।’

बालुवाटारमा प्रधानमन्त्री देउवासहित अन्य केही मन्त्रीहरु र सरकारका उच्च अधिकारीसहित दुई नेताबीच वार्ता भएको हो । भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री सुनिलबहादुर थापा र अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि सहभागी थिए । भेटवार्तामा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले यो भेटमा नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन विदेशमन्त्री स्वराजसँग छलफल भएको बताएका थिए ।

उता भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिषकुमारले नेपालको नयाँ सं‌विधान बनेपछि तीनै तहको निर्वाचन गराउन सफल भएकोमा स्वराजले देउवालाई बधाई दिएकी थिइन् । ‘भेटमा विदेशमन्त्री स्वराजले प्रम देउवालाई निर्वाचन गराउन सफल भएकोमा बधाई दिनुभएको छ’, उनले ट्विटरमार्फत् भनेका छन्, ‘यो बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय र एैतिहासिक सम्बन्ध तथा यसका बहुआयामिक पाटाबारे दुई नेताबीच सौहार्दरुपमा कुराकानी भयो ।’ यसअघि स्वराजले एमाले अध्यक्ष केपी ओली र एमालेका नेताहरुसँग होटल सोल्टीमा भेटवार्ता गरेकी थिइन् । बिहीबार राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसहितसँग उनले भेटवार्ता गरिन् ।

शुक्रबार बिहानदेखि नै उनी भेटवार्तामा व्यस्त भइन् । शुक्रबार बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले होटल सोल्टीमा भेटिन् । त्यसपछि होटल सोल्टीमै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि उनले भेटेर मधेस र स‌ंविधान सं‌शोधनबारे संवाद गरिन् ।

होटल सोल्टीबाट निस्केपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीत्तल निवासमा भेट गर्दै निर्वाचन गराएकोमा बधाई दिइन् । उनी त्यहाँबाट प्रम देउवालाई भेट्न बालुवाटार झरिन् । त्यहाँ करिब एक घण्टाको सं‌वाद सकेपछि शुक्रबारै दिउँसो स्वदेश फिर्ता भइन् ।