काठमाडौँ – भारतको गुजरातमा जारी त्रिपक्षीय एसएसएस फ्रेण्डसिप कप टी–२० प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार गुजरात क्रिकेट एशोसिएसनको टोलीलाई १९ रनले हराउँदै नेपालले उपाधि कब्जा गरेको हो ।


ADVERTISEMENT


आइतबार गुजरातको भापीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सकेको हो ।


ADVERTISEMENT

# # #


गुजरातका लागि कप्तान उमंग तान्डेलले सर्वाधिक ४० रन बनाए भने आर्य देशाईले ३६ रनको योगदान दिए । यस्तै रुद्र पटेल र हर्ष थाकरले समान १७ रन बनाए । बलिङतर्फ अविनाश बोहराले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन मात्रै खर्चिएर २ विकेट हात पारे । करण केसीका नाममा १ विकेट रह्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको पारी खेले । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै आशिफ शेख ३४ रनमा आउट हुँदा कुशल मल्लले १३ बलमा ३१ रन बनाएर नटआउट रहे । यस्तै कुशल भुर्तेल १९ रनमा आउट भए ।

बलिङतर्फ गुजरातका सेन पटेल, तेजस पटेल, जयमित पटेल र जला याथवले समान १–१ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो । समूहचरणको अन्तिम खेलमा नेपाल बरोडाको टोलीसँग पराजित भएको थियो । गुजरातले भने नेपालसँगका दुवै खेल हारे पनि बरोडासँग जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले यस प्रतियोगितालाई अप्रिल दोस्रो सातादेखि ओमानमा सुरु हुने एसीसी ट्रफी प्रतियोगिता र आगामी जुनदेखि अमेरिका वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपको तयारीका रुपमा लिएको थियो ।

प्रतियोगिता सम्पन्न भएसँगै नेपाल त्यतैबाट एसएसी प्रिमियर कपका लागि ओमान प्रस्थान गर्नेछ । एसीसी प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका छन् ।