विराटनगर – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ६ गते दिनको १ बजेका लागि कोशी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेका छन् ।


ADVERTISEMENT


कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


कोशी प्रदेशका नेकपा एमालेका ३९ जना र माओवादी केन्द्रका १३ जना गरी ५२ जना प्रदेश सांसदहरुले विशेष अधिवेशन माग गरेको आधारमा प्रदेश प्रमुख खापुङले विशेष अधिवेशन आव्हान गरेका हुन् ।

संविधान अनुसार प्रदेश सभाको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन आव्हान गर्ने संवैधानिक प्रावधान रहेको छ भने अन्य अधिवेशनहरु भने प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले आव्हान गर्ने प्रावधान छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अल्पमतमा परेपछि पनि राजिनामा नदिएपछि र विश्वासको मत पनि नलिने अडान लिएपछि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले विशेष अधिवेशन आव्हानका लागि चैत्र २६ गते प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।