काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको नेपालको तेस्रो खेलमा हङकङले नेपाललाई जितका लागि एक सय १५ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानमा आज भएको जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा सवै विकेट गुमाउँदै ११४ रन बनाएको हो । वर्षाका कारण ढिलो भएपछि १८ ओभरमा झारिएको खेलमा हङकङका लागि अंशुमान रथले सर्वाधिक ३४ रन बनाए । यस्तै जिशन अलीले १४ तथा कप्तान निजकात खानले १२ र इशान खानले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चिए । यस्तै ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । यस्तै करण केसीका नाममा १ विकेट रह्यो ।

यसअघि दुई खेलमा जित हात पारेको नेपाल आज जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यता ले पहिलो खेलमा कतारलाई २६ रनले हराए पनि दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका छन् ।

विजेता टोली अर्को वर्ष हुने टी–२० एशिया कपका लागि छनोट हुनेछ । यसअघिको विजेता नेपालले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक एशिया कपमा पुग्ने लक्ष्य राखेको छ ।