काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।  समूह ‘ए’मा रहेको नेपालले सोमबार हङकङलाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरतमा वर्षाका कारण ढिलो भएपछि १८ ओभरमा झारिएको खेलमा हङकङले १७.५ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेपछि नेपालको जित पक्का भयो । त्यसक्रममा कुशलले १९ बलमा ३ चौका र २ छक्काको मदतमा ३२ रन बनाए भने आशिफले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए ।

यस्तै कप्तान रोहित पौडेलले २० बलमा ३ चौकाको मदतमा नटआउट २५ रन बनाए भने सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का हान्दै नटआउट १९ रन जोडे । बलिङतर्फ हङकङका लागि बलिङतर्फ यासिम मोर्ताजा र इशान खानले समान १–१ विकेट लिए ।

यसअघि हङकङका लागि अंशुमान रथले सर्वाधिक ३४ रन बनाए । यस्तै जिशन अलीले १४ तथा कप्तान निजकात खानले १२ र इशान खानले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चिए । यस्तै ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । यस्तै करण केसीका नाममा १ विकेट रह्यो ।

यसअघि दुई खेलमा जित हात पारेको नेपाल आज जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराए पनि दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेल साउदी अरेबियासँग खेल्नेछ ।

एसीसी प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका छन् ।

विजेता टोली अर्को वर्ष हुने टी–२० एशिया कपका लागि छनोट हुनेछ । यसअघिको विजेता नेपालले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक एशिया कपमा पुग्ने लक्ष्य राखेको छ ।