पोखरा– मणिपाल शिक्षण अस्पताल, पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ शुरु भएको छ।


ADVERTISEMENT


अस्पतालले पोखरा महानगरपालिकाका नग प्रमुख धनराज आचार्यको प्रमुख अतिथ्यमा औपचारिक रुपमा उद्घाटन समारोह गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ मंगलबारबाट सुरु गरेको हो।


ADVERTISEMENT

# # #


मणिपाल शिक्षण अस्पतालले पहिलो पटक शुरू गरेको यस तालिम कम्तिमा आठ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेर पुगेकाहरूले सहभागी हुन पाउने गरी सुचना प्रकाशन गरिएको र आवेदन आएकामध्ये प्रवेश परिक्षा तथा अन्तर्वाताका माध्यमबाट छनोट गरिएको हो। तालिममा पोखरा तथा पोखरा बाहिरका प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै मणिपाल शिक्षण अस्पतालका हस्पिटल डाइरेक्टर डा. अभिषेक मास्केले यस मणिपाल शिक्षण अस्पतालले बिरामीहरूको सेवामा सहयोग पुग्ने हेतुले विभिन्न समयमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आइरहेको र भविष्यमा समेत स्वास्थ्य संग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्य रहेको जानकारी गराए ।

तालिमको मुल लक्ष्य भनेको सम्बन्धित क्षेत्रमा सीप युक्त जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन् ।

साथै तालिमको बारेमा समेत प्रकाश पार्दै यस तालिमले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मापदण्ड अनुरूप रहेर सैद्वान्तिक एवम् व्यवहारिक ज्ञानहरु प्रदान गर्दै प्रशिक्षार्थीहरूलाई पेशागत स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन, पौष्टिक तथा सन्तुलित आहारा व्यवस्थापन, व्यक्तिगत तथा वातावरणीय सरसफाई, व्यायाम तथा मनोरञ्जन साथै मनोसामाजिक अवस्थाको जाँच सम्बन्धि उचित प्रशिक्षण प्रदान गरिन्छ समेत जानकारी गराइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दौ प्रमुख अतिथि पोखरा महानगरपालीकाका नगर प्रमुख आचार्यले अहिलेको परिवेशमा यस तालिमको भुमिका अत्यन्त रहेको र यस तालिम समाजमा रहेका वृद्ध, असहाय तथा सहाराको आवश्यक रहेका व्यक्तिहरूलाई ठुलो सहयोग तथा सेवा पुग्ने बताए । कार्यक्रममा बोल्दै यस तालिम प्राप्त गरिसके पश्चात पोखरा महानगरपालीकाले यससँग सम्बन्धित रोजगारीको लागी समेत सहयोग गर्ने कुरा राख्दै प्रशिक्षार्थीहरू बधाई तथा शुभकामना दिए ।

मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले सहभागीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीहरुको आवश्यकतालाई मध्यनजर गर्दै मणिपाल शिक्षण अस्पतालले समय–समयमा विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै उद्घाटन समारोह कार्यक्रमको समापन गरेका थिए।