कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ । प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ ।


ADVERTISEMENT


गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो । आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन् । “भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्”, अधिकृत जोशीले भने, “औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि अरुलाई टोक्दा परजीवी सारेर सङ्क्रमण गराउँदछ ।”


ADVERTISEMENT

# # #


खुला सीमा क्षेत्र भएकाले औलोको सङ्क्रमणमा परेका सिधै घर पुग्ने गर्दछन् । सीमा क्षेत्रमा रक्त परीक्षणको भरपर्दो व्यवस्था नहुँदा पनि औलो रोकथाममा समस्या रहेको उनको भनाइ छ । उनकाअनुसार आयातित औलोको सङ्क्रमण रोक्नका लागि समुदायमा खोजपडतालको कार्य गरिँदै आएको छ ।

“समुदायमा भारतलगायत अन्य क्षेत्रबाट औलोको सङ्क्रमण भएर आएका व्यक्तिबारे अध्ययनको कार्य गर्छौं”, उनले भने, “बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने गरिन्छ, औलो सार्ने लामखुट्टेबारे अध्ययन र अनुसन्धानको कार्य पनि गर्दै आएका छौँ ।” यसै कारणले औलोका बिरामीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको उनले जानकारी दिए ।

जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रममा वृद्धि भएसँगै र सडक यातायातको व्यवस्थाले तराई क्षेत्रमा पाइने लामखुट्टे हाल पहाडीदेखि हिमाली जिल्लामा पनि पाइन थालेको उनले उल्लेख गरे । औलोका दुई किसिमका परजीवी पाइने गरेको जानकारी दिँदै उनले जसमा प्लाज्मोडियम फाल्सीपारम र प्लाज्मोडियम भाइभेक्स रहेका छन् ।

त्यसमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीलाई जटिल प्रकृतिको मानिन्छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फेला परेका एक सय ५० औलोका बिरामीमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीको सङ्क्रमण भएका बिरामीको सङ्ख्या २० रहेको छ । अन्य एक सय ३० मा प्लाज्मोडिम भाइभेक्स परजीवी फेला परेको अधिकृत जोशीले बताए ।

जोशीले सबैभन्दा बढी औलोका बिरामी ७४ जना कैलालीमा देखा परेकामा त्यसपछि कञ्चनपुरमा २७, अछाममा २०, बाजुरामा ११, डोटीमा सात, बझाङमा दुई, बैतडीमा तीन र डडेल्धुरामा छ जना औलोका बिरामी देखा परेको बताए । उनका अनुसार सुदूरपश्चिममा औलोको उच्च जोखिममा रहेको जनसङ्ख्या २४ लाख ८६ हजार रहेको छ ।

औलोका बिरामी पत्ता लगाउन ९५ हजार तीन सय ५० जनाको रक्त नमूना परीक्षणको कार्य गरिएको छ । औलोको उच्च जोखिम क्षेत्रमा रहेका ८५ हजार पाँच सय ५३ समुदायमा कीटनाशक झुल वितरणको कार्य गरिएको छ ।

गर्भवती तथा जोखिम समूहका लागि ११ हजार सात सय ४६ कीटनाशक झुल वितरण गरिएको छ । औलोको सङ्क्रमण रोक्नका लागि विषादी छिड्काउबाट ५१ हजार दुई सय १७ जना लाभान्वित भएका छन् । औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । औलोबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ ।

औलो लागेमा टाउको दुख्ने, वाकवाकी हुने, वान्ता हुने हातखुट्टा तथा जोर्नी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्ने गर्दछन् । लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर छोप्ने लुगा लागाउने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, घर वरिपरिको पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरिको घाँसलगायतको झाडी सफा गर्ने, धुप बाल्नेलगायत गर्नुपर्दछ ।

औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार देशलाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । यस अवधिमा औलो निवारणका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, औलो रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने रहेको छ ।