काठमाडौँ – काठमाडौँमा जारी वेष्टइण्डिज ‘ए’सँगको टी–२० सिरिजको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ । आइतबार भएको खेलमा कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङका बाबजुत नेपाल वेष्टइण्डिज ‘ए’सँग १० रनले पराजित भएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमै समेटिएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक सर्वाधिक ७१ रनको इनिङ खेले । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै गुल्शन झाले ११ बलमा ३ चौका र २ छक्काको मदतमा २६ रन बनाए भने लोकश बम १६ बलमा १ चौका र २ छक्काको मदतमा १७ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले १२ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ वेष्टइण्डिजका लागि अवेद म्याकोय र गुडाकेश मोटीले समान २–२ विकेट हात पारे भने ओशन थोमस र रोस्टन चेसले समान १–१ विकेट लिए ।

यसअघि वेष्टइण्डिजका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २–२ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

जारी प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपाल चार विकेटले विजयी भएको थियो । यी दुई टोलीबीचको तेस्रो खेल बुधबार हुनेछ । जोरी टी–२० सिरिजलाई दुबै टोलीले आगामी जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपको तयारीका रुपमा लिएका छन् ।