देउखुरी – वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जंगलमा आगो लागेको थियो। सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री गएका थिए। आगो नियन्त्रणमा आएन।


ADVERTISEMENT


आगो झन फैलिँदै नजिकैको एक घरमा पनि आगोले भेट्यो। गाउँले सबै आगो निभाउन भनेर जंगलमा पुगेका घरमा लागेको आगो निभाउने सम्भावना नै भएन। झन फैलिँदै गएको त्यही आगोले खत्रीको घर पनि भेट्यो। घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो। ‘छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउन १ लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो, त्यो पनि जल्यो। घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो। यस्तो होला भनेर हामीले सोचेका थिएनौं। अहिले खुल्ला आकाशमा बस्नु परेको छ,’ खत्रीले भने।


ADVERTISEMENT

# # #


पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भएको उनले बताए। घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उनको भनाइ छ। शरीरका कपडाबाहेक केही नबचेको उनले बताए। ‘कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो,’ उनले भने, ‘त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौं।’

सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ। ‘एक्कासी आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो। सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो,’ भण्डारीले भनिन्, ‘ ६ वटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए।’

आगालागीले सबै जलेपछि केही राहत सामग्री पाएको तर पकाउन भाँडा नभएको उनको दुखेसो छ। लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँड्नु परेको उनले बताइन्।

सोही गाउँकी मिनीकुमारी बोहराको पाँच जनाको परिवार पनि खुल्ला आकाशमुनि छ। घरको अन्नपात, गोठ बाख्राको खोर सबै जलेको बोहराले बताइन्। ‘मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो। सबै घरबाहिर रुवावासी गर्न थाल्यौं,’ उनले भनिन्, ‘घर नजिकमा पानी पनि छैन। केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन। त्यहाँबाट पानी ल्याउन सम्भव भएन। गाउँले सबैको घर छिनभरमै खरानी भयो। घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन्।’

वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै थिए। घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उनले बताए। स्थानीयको उद्धारका लागि उनी लागिपरेका छन्। प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण संकलन गर्न लागेका छन्।

गाउँसम्म पुग्ने सडक नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए। नजिकै राप्ती नदी छ। तर, त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए।

आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन्। आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए। गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। रूखहरु जलेर धुवाँ उडिरहेको छ।

पानी र बत्तीको समस्या

गर्मी मौसम सुरु भएपछि जंगलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो। त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो। एक घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताए।

एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको भण्डारीले बताए। ‘आगलागी भएपछि गाउँमा बिजुली बत्ती छैन,’ उनले भने, ‘३ दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ। सञ्चारबिहीन छौँ।’

आगलागी पीडितलाई स्वास्थ्यमा ध्यान दिन आग्रह

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ। वैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पन्छी मर्नुका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनामा ध्यान दिन सबैमा आग्रह गरेको छ।

पीडादायी घटनाको उद्धार कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था, व्यापार संघ, रेडक्रस, उद्योगी, व्यवसायी एवं सबैमा नागरिक समाज दाङले अनुरोध गरेको छ।
आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्म सुरक्षित खानेपानीको सहज रुपमा उपलब्ध गराउन आग्रह गरिएको छ।

बढ्दो गर्मी र हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकारवाला सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको छ।

आगलागीबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति

गाउँमा रहेका २८ घरमध्ये २३ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। आगलागीबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले बताए। पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ, बिस्कुट, म्याट र त्रिपाल वितरण गरेको थियो। रासस