धरान – धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेकी छन् । सोमबार पारकुवामा भएको दुर्घटनामा उनको खुट्टा र निधारमा चोट लागेको छ ।


ADVERTISEMENT


उनी भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार थिइन् । ‘गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो’, शय्याबाटै उनले सुनाइन् ।


ADVERTISEMENT

# # #


सोमबार बिहान भोजपुरको आमचोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा पार्किङ गर्न खोज्दा पौने १० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भइसकेको भने १२ जना घाइते भएका थिए । को२ज २६१७ नम्बरको जिप सडकबाट करिब ५० सय मिटर तल खसेको भोजपुर दुङमानास्थित प्रहरी चौकीले जनाएको छ । जिपमा छ महिनाको बच्चासहित जम्मा १४ यात्रु सवार थिए । दुर्घटनामा घाइेत राई जस्तै १२ जनाको सोही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जसमध्ये तीन जना डिस्चार्ज भइसक्नुभएको छ भने नौ जनाको उपचार जारी छ ।

सरस्वति जस्तै घाइते भोजपुरको आमचोक गाउँपालिका–१० की सिर्जना राई पनि छोरा र छोरीसहित उपचाररत छन् । छोरा साइमन राईको खुट्टा भाँच्चिएको छ भने छोरी लिजाको टाउकोमा गहिरो चोट लागेको आकस्मिक कक्षको शय्याबाटै उनले सुनाइन् ।

दुर्घटनामा परी आमचोक –३ का सुमन राई गम्भीर घाइते भएका छन् । उनी प्रतिष्ठानको आकस्मिक कक्षमै छन् । उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनका आफन्त दिक्पाल राईले दुर्घटनाको कारण थाहा नभएको बताए ।

दुर्घटनाको सूचना पाए लगत्तै घटनास्थल पुगेर यात्रुको उद्धारमा लागेका भोजपुर आमचोक गाउँपालिकाका उपाध्यक्ष सीता राईले दुर्घटनाले आफूहरुलाई गम्भीर बनाएको बताइन् । ‘हिजोको घटनाले हामी सबैलाई गम्भीर बनाएको छ, पछिल्लो समय पहाडी क्षेत्रमा सवारी दुर्घटनाको घटना बढ्दै जाँदा स्थानीय सरकारको ध्यानाकर्षण भएको छ’, उनले भनिन् ।

उनले पहाडी भेगको बाटो मर्मत तथा स्तरोन्नतिका लागि ठूलो बजेट आवश्यक भएकाले सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरेका बताइन् । उनले चार जना घाइतेको अवस्था गम्भीर रहेको र तत्काल आइसीयुको आवश्यकता परेकाले धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघासँग सहयोगको अपिल गरेको बताए । उपप्रमुख वेघाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी घाइतेहरुको अवस्थाबारे जानकारी लिएका थिए । उनीले आफूले सक्दो सहयोग गर्ने वचन समेत दिए ।

धरानबाट भोजपुर पुग्ने सडकको अवस्था राम्रो नहुँदा यात्रुहरुले समय समयमा दुःख पाउने गरेका छन् । कतिपय स्थानमा मोटरेबल पुलको समेत अभाव छ । भोजपुरबासीका लागि दुधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्ने बाध्यात्मक अवस्था छ ।

भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लामा आउजाउ गर्ने छोटो दूरीको यो सडक खण्ड सहज छैन । भोजपुरको आमचोक, हतुवागडीदेखि, सप्तकोशी नदीपारिको भिरको यो बाटो दूधकोशी किनारको मैयुङटार उदयपुरको मैनामैनी सोमबारे कोठहुँदै सुनसरीको धरानसम्म पुग्छ ।

यसअघि गत चैत्र १ गते भोजपुर मैयुङटार नजिक उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीमा भोजपुर जाँदै गरेको जिप बाटोबाट करिब चार सय मिटर तल खस्दा चालकसहित दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा घाइतेमध्येका केहीको अहिले पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । रासस