काठमाडौं-धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना मुसहर बस्ती मंगलबार हस्तान्तरण गर्न लागिएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो ।


ADVERTISEMENT


हस्तान्तरण कार्यक्रममा उपस्थित हुन कलाकारद्वय धुर्मुुस र सुन्तलीले जिल्लावासीलाई चुले निम्तो दिएका छन् ।


ADVERTISEMENT

# # #


कलाकार धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो खुसीको क्षणमा हामी हाम्रा सम्पूर्ण सहयोगी हात, शुभेच्छुक तथा शुभचिन्तकको उपस्थितिको अपेक्षामा छौं । सबैको साझा प्रयासबाट बनेको यो बस्ती सबैजना मिलेर हस्तान्तरण गरौं, सबैलाई चुले निम्तो छ।’

सो नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो। २८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन्। गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो। करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए।

यो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउन्डेसनका अध्यक्ष तथा कलाकार धुर्मुसले बताए ।