काठमाडौं-प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन् ।


ADVERTISEMENT


हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ । सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ । देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ ।

सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र आरजु मध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ । ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि र आरुजु) नै पर्न सक्नुहुन्छ।’

देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका छन् ।

तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए । उनले पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी गरे । राष्ट्रिय सभाको ५६ जनाको निर्वाचन सबै प्रक्रिया सकिएपछि मनोनितका विषयमा छलफल हुने बताए ।

‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’, उनले भने । प्रवक्ता शर्माले राष्ट्रिय सभाका तीनजनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए ।

‘राष्ट्रिय सभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीनजनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ ।’-आजको अन्नपूर्ण पोष्टबाट