झापा– झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेकाले सचेतनामूलक अभियान सुरूगरिएको जानकारी दिए ।
न्यौपानेका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएकामा जसमध्ये मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३९ रहेको र सो अवधिमा चार सय ६३ वटा सवारी दुर्घटना भएकामा मोटरसाइकलको संख्या २८८ रहेका छन् ।
“मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । त्यसैले चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ कि भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनेट अभियान चलाएका हौँ”, न्यौपानेले भने,“हाल यो अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ । अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षासम्बन्धी प्रशिक्षण दिने गरेको छ ।”
साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्रगति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएकाले कान छोपिने हेल्मेट लगाउन, मदिरासेवन गरेर सवारी नचलाउन र तीव्रगतिमा नकुदाउन आग्रह गर्ने गरिएको उनको भनाइ छ ।