काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे । मन्त्री भण्डारीले नेपालले युरोपेली सङ्घ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने राजदूत तानेसित बताए । नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जानेमा विश्वास व्यक्त गर्दै उनले दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताए।
त्यस क्रममा राजदूत तानेले मन्त्री भण्डारीलाई रोमानिया भ्रमणका लागि आग्रह गरे । उनले रोमानियाले नेपालमा कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए। राजदूत तानेले मन्त्री भण्डारी रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गराए । उनले नेपालबाट रोमानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गरे ।