काठमाडौँ –सरकारले आगामी बर्ष कृषि दशक घोषणा गर्ने जनाएको छ ।
मंगलबार संघीय संसदमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिने जानकारी दिए । कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिने सरकारको कार्यक्रममा उल्लेख छ । त्यस्तै उनले कृषि उपज बस्तुहरुको न्यूनतम समर्थन मूल्य तोक्ने पनि बताए ।
उनले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने नीति रहेको जानकारी दिए । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बीमा र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गरिने सरकारले जनाएको छ । राजस्व बाँडफाँटलाई समन्यायिक, सन्तुलित र अनुमानयोग्य बनाइने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ । त्यसैगरी, खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय हस्तान्तरण गरिने राष्ट्रपति पौडेलले बताए ।
तीन तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालन एवम् बाँडफाँट, लगानी तथा प्रतिफलको हिस्सा निर्धारण तथा विवाद निरूपणका लागि एकीकृत कानून तर्जुमा गरिने र तीनै तहका विद्युतीय प्रणालीहरूबीच अन्तर–आबद्धता कायम गर्दै सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ तुल्याइने सरकारको कार्यक्रममा उल्लेख छ ।