सुर्खेत – सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।
आज बिहान भएको दुर्घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिँदा दुईजनाको मात्र मृत्यु भएको जनाएको थियो । पछि चारजनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सनाखत हुन सकेको थिएन । हाल मृतकको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक केसीका अनुसार भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका९४ का ३८ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक कालिकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो । रासस