काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरुले राखेको जिज्ञासाको जवाफमा प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।
उनले सत्ता समीकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बूढानीलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागिता जनाउन निर्देशन दिएको पाण्डेले बताए ।
बैठकमा १२ जना सांसदहरुले बजेटका विषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।