काठमाडौं- नेपाली समाजमा साउन १५ गते परम्पराअनुसार खिर खाएर राष्ट्रिय खिर दिवस मनाइएको छ। वर्षायाममा तातो खिर सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका साथ यो परम्परा प्राचीनकालदेखि चलिआएको हो।


ADVERTISEMENT


दूध, चामल, चिनी तथा विभिन्न मसला मिसाएर बनाइने खिरले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने विश्वास छ। चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतका सामग्री प्रयोग गरी विभिन्न प्रकारका खिर बनाइने गरिन्छ।


ADVERTISEMENT

# # #


राष्ट्रिय खिर दिवसको अवसरमा खिर आयोजक समितिले काठमाडौंको अनामनगरमा विशेष खिर वितरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क खिर खुवाउँदै नेपाली मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ।

नेपाली समाजमा असार १५ मा दही–चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–चाकु लगायतका परिकार खाने परम्परा रहिआएको छ। यी परम्पराले नेपाली संस्कृति, सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार दूधबाट बनाइने खिर पौष्टिक आहार भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ। साउन १५ को अवसरमा देशका विभिन्न स्थानमा खिर पकाएर परिवार, आफन्त र छिमेकीसँग साटासाट गरी पर्व मनाउने चलन यस वर्ष पनि उत्साहपूर्वक मनाइएको छ।