खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा निर्माण भएको ‘जालपा कभर्डहल’ सञ्चालनमा आएको छ। नगरपालिकाको रु ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण भएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि सञ्चालनमा आएको हो।


ADVERTISEMENT


कभर्डहल तीन सय दर्शक क्षमताको बनेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । वि.सं. २०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गरेका थिए।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङका नेता रामप्रसाद दङ्गाललगायतको उपस्थिति थियो। करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुदसम्बन्धी विभिन्न गतिविधि, सभा, सम्मेलनलगायत कार्यक्रम गर्न सकिने वडाध्यक्ष राईले जानकारी दिए।

कभर्डहल उद्घाटनको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता, पूर्वखेलाडीलाई सम्मानका साथै साङ्गीतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राईले बताए। उनका अनुसार यही जेठ १८ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरले जितेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो। उपाधि विजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका वडाअध्यक्ष राईले जानकारी दिए। उनका अनुसार दोस्रो भएको रावाबेँसी–१ कुमिण्डेले रु ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका–५ तेस्रो हुँदै २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खुला डबल ब्याडमिन्टनमा दिक्तेलका पूजन आचार्य र सञ्जय कार्की पहिलो, दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन्।

महिलातर्फको डबल प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन्। खुला महिलारपुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५, १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन्।

पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भएका छन्। भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, दश हजार, आठ हजार पुरस्कार प्राप्त गरेका छन्।

पन्ध्र वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टनमा केपिलासगढी गाउँपालिका–४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो, दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिक्तेलकै योजन दाहाल र अनिशान्त दङ्गाल तेस्रो भएका छन्। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ।

कार्यक्रममा भलिबलका पाँच तथा तेक्वान्दो र सितोरियो करातेका दुईरदुईजना पूर्वखेलाडीलाई सम्मान गरिएको छ। भलिबलका पूर्वक्षेत्रीय खेलाडी बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्वखेलाडी विकास र सङ्गम गुरुङ तथा सितोरियो करातेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिए। रासस