काठमाडौँ– विश्व वातावरण दिवस नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ ।


ADVERTISEMENT


हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको छ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले अहिले नै वातावरण संरक्षणमा जुट्न नसके आगामी पुस्तालाई जीवन जिउन कठिन हुने बताए । उनले अहिले प्लाष्टिकको बोटलमा पानी खानुपर्ने अवस्थाले मानिसको जीवनमा निकै असर पुग्ने भएपनि त्यसतर्फ ध्यान दिन नसकेको धारणा राखे । विश्व वातावरण दिवसलाई केवल कोठाभित्र मात्रै मनाएर नपुग्ने भन्दै वर्षभरि नै वातावरण संरक्षणको कार्यक्रम गर्नुपर्ने उनको राय छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।