काठमाडौं-महाशिवरात्रिको तयारी कार्य तीव्र रूपमा भइरहेको छ । शिवरात्रिका लागि साधु सन्त भित्रन थालेका छन् । आएका साधु सन्तलाई पशुपति क्षेत्रको भागवतानन्द आश्रम, अन्नपूर्ण आश्रम र श्रीनाथम् अखडामा साँझ बिहान नित्य भण्डारा (निःशुल्क भोजन) आरम्भ गरिएको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार यस पर्वका लागि कोषले मितव्ययिता अपनाउने गरी ५२ लाख रुपियाँ विनियोजन गरेको छ । महाशिवरात्रिलाई व्यवस्थित गर्न गठित सबै समिति र उपसमितिको बैठक सम्पन्न भइसकेको छ ।


ADVERTISEMENT

# # #


यो पटक पनि विगतमा झैँ मन्दिर प्रवेश पास खारेज गरिएको छ भने सशुल्क दर्शनको व्यवस्था पनि राखिएको छैन । पशुपतिनाथका नित्य दर्शनार्थीलाई भने बिहान ७ बजेभित्र सीधै मन्दिर प्रवेश गर्ने सुविधा दिइएको छ ।

यसबाहेकका सबै भक्तजनले पङ्क्तिबद्ध भएर पशुपतिनाथको दर्शन गर्न सक्नेछन् । आएका साधु सन्तलाई पशुपति गुठी गोश्वारा कार्यालयले धुनीका लागि दाउरा उपलब्ध गराउन थालेको छ । योपल्ट ४५ हजार किलो दाउरा टिम्बर कर्पोरेसनले गोश्वारालाई उपलब्ध गराएको छ । माघ २८ गते विजया एकादशीका दिनसम्म यहाँ निकै नै साधुको आगमन हुनसक्ने पूर्वसूचनाअनुसार यहाँ व्यवस्थापनको तयारी भइरहेको छ ।

आएका साधुलाई राडी, पाखी, घण्ट, चमर, लोटा, बख्खु र रुद्राक्षमालासहित नगदै दक्षिणाको व्यवस्था गरिएको छ । भारत नागाल्यान्डबाट केही नागाको आगमनसमेत यहाँ भइसकेको र साधु अखडामा बास हुन थालेको छ ।

एकादशीका दिन मन्दिर प्रवेशपछि नागालाई साविकअनुसार मन्दिर परिसरको उत्तर, दक्षिण र पश्चिम क्षेत्रमा निर्वस्त्र रहने अनुमति दिइएको गोश्वारा प्रमुख लछुना शर्मा काफ्लेले जानकारी दिएका छन् ।

त्रिदिवसीय रूपमा मनाइँदै आइएको यो पर्वमा गाँजा, भाङ, मदिरा, धतुरोलगायतका पदार्थको सेवन अहिल्यैदेखि पूर्ण रूपमा निषेध गरिएको छ । गुठी संस्थानले गर्नुपर्ने व्यवस्थापनको भने कुनै टुङ्गो लागिनसकेको उपप्रशासक एवं लेखा प्रमुख दीपकबहादुर पाण्डेले बताएका छन् । संस्थानअन्तर्गत कालमोचनघाटका विभिन्न जोगी अखडामा आएका साधुलाई के खान दिने भनेर अखडाका महन्थ रन्थनिन थालेका छन् ।

यहाँ पशुपतिमा जस्तो भण्डारा चलाइएको छैन । जोगीको कुटीमा जोगी नै पाहुना रहने यो पर्व पाहुनालाई खानपान गराउन नसकिँदा हाँसो र पीडाको पर्व हुने गरेको नाथ योगी बलभद्रले बताएका छन् । कालमोचनमा नाथ, उदासी, सन्न्यासी र वैरागी सम्प्रदायका अखडा छन् ।