काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत ११ टन फोहर संकलन गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित सफा हिमाल अभियान २०२४ को समापन समारोहमा सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले ५० दिनको अवधिमा ११ टन फोहर संकलन गरिएको जानकारी दिए ।
त्यस्तै ४ वटा शव र एक अस्थिपञ्जर संकलन गरिएको र आवश्यक कानूनी प्रक्रिया प्रश्चात शिक्षण अस्पतालमा पठाईएको उनले बताए । अभियान अन्तर्गत सेनाका १० जना, शेर्पाका १८ जना लगाएका टोली खटिएको पनि देउजाले बताए । फोहरका अलावा हिमालमा लामो समयदेखि रहेका मानव शव संकलन निकै चूनौतिपूर्ण रहेको उनको भनाइ छ ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियानले हिमाली क्षेत्रलाई फोहरमुक्त बनाउन चेतना दिने विश्वास व्यक्त गरे । उनले आवश्यक परेको खण्डमा उच्च हिमाली क्षेत्रमा हुनसक्ने संकट तथा अन्य अवस्थामा परिचालन हुनुपरे सेनालाई आवश्यकता अनुसार तालिम पनि दिइएको बताए । सफाइ अभियान सञ्चालन गर्नु जटिलका साथै शासहिक काम भएको र सेनाले सफलतापूर्वक सम्पन्न गर्न सफल भएको उनले बताए ।
उनले जलवायु परिवर्तनको असर हिमालमा देखिएको र वातावरणलाई असर पुराइरहेको धारणा राखे । कार्यक्रममा सफा हिमाल अभियानलाई सफल पार्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



























































